राप्तीमा न्यायिक समितिले एक वर्षमा ४५ विवाद टुंग्यायो, जग्गा साँधका उजुरी सबै भन्दा धेरै
भालुवाङ १३ साउन । राप्ती गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ४८ विवादमध्ये ४५ वटा मेलमिलापमार्फत निरुपण गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमलापति चौधरीका अनुसार अधिकांश विवाद ३५ दिनभित्रै निरुपण गरी कार्यान्वयनमा ल्याइएको छ भने ३ वटा विवाद अझै प्रक्रियामै रहेका छन्। समितिमा दर्ता भएका उजुरी मध्ये सबै भन्दा धेरै जग्गा साँध सम्बन्धी रहेका छन् । उजुरी प्रशासक सुवास भट्टराईका अनुसार आर्थिक वर्षभर १९ वटा जग्गा साँध, १५ वटा आर्थिक लेनदेन, ५ वटा घरायसी झगडा, ५ वटा जग्गा रोक्का, ३ वटा कुटपिट तथा १ वटा आँठोमा रहेका रुख–बिरुवा हटाउने सम्बन्धी विवाद दर्ता भएका थिए।
उपाध्यक्ष चौधरीले स्थानीय स्तरमा उत्पन्न हुने विवादलाई अदालतसम्म पुग्न नदिई मेलमिलापका माध्यमबाट निरुपण गर्ने प्रयास सफल हुँदै गएको बताएकी छिन्। उनका अनुसार समितिले निष्पक्ष, छिटो र सहज न्याय प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। गाउँपालिकाको न्यायिक समिति उपाध्यक्ष चौधरीको संयोजकत्वमा गठन भएको हो। समितिमा वडा नं. ३ की सदस्य इश्वरी परियार र वडा नं. ५ का सदस्य गोविन्द कुँवर क्षेत्री सदस्य रहेका छन्।
