आदर्श नमुना मावि लालमटियामा सरस्वती मन्दिरको उद्घाटन



आदर्श नमुना मावि लालमटियामा सरस्वती मन्दिरको उद्घाटन

लालमटिया २३ माघ । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर आइतवार मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

मन्दिरको उद्घाटन जेष्ठ नागरिक धनबहादुर भट्टराईले मन्दिरको ढोकामा टाँगिएको व्यानर खोलर गरेका थिए । विभिन्न चन्दादाता र विद्यालयको आन्तरिक कोषबाट गरी कुल १ लाख ५० हजारको लगानीमा मन्दिर निमाणर् गरिएको हो ।

जसमा निमाणर् व्यवसायी बलिराम चौधरीबाट ३२ हजार रुपैयाँ बराबरको लेवर खर्च, विद्यालयको आन्तरिक कोषबाट ५० हजार, विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलबाट ६ हजार, सहायक प्रधानाध्यापक यादव आचार्यबाट ५ हजार ५ सय, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काबाट ५ हजार, निमार्ण व्यवसायीबाट १ बण्डल सडिया र स्वर्गद्धारी क्रसर उद्योगबाट १ ट्याक्टर गिट्टी, बालुवा सहयोग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै थापाले विद्यालयको गुणस्तर तथा शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति एक्लैले कुनै पनि कार्य गर्न सम्भव नभएकाले सवैको सहयोग आवश्यक रहेको बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले नमुना विद्यालय अरुको सिकाई बन्न सक्नुपर्ने बताउँदै विद्यालयलाई कस्तो बनाउने भन्ने योजना बनाएर सोही योजना अनुसार काम गर्न सुझाव दिएका छन् ।

सो अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग एवम् योगदान पुर्‍याएको भन्दै विद्यालयका पुर्व प्रधानाध्यापकहरु हरिसचन्द्र भण्डारी, दामोदर पाण्डे, पुर्व सहायक प्रधानाध्यापक द्रोणबहादुर जिसी, पुर्व शिक्षक अभिभावक संघका संयोजक गुरुप्रसाद ज्ञवाली, पुर्व शिक्षकहरु श्रीकृष्ण शर्मा, मेनका शर्मा, ओमकला न्यौपाने, लोकमणी ज्ञवाली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्कालाई फुलमाला र टिका लगाएर सम्मान गरिएको थियो ।

साथै विद्यालयलले रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्तालाई प्रेस संयोजकमा नियुक्त गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाले स्टेशन म्यानेजर गुप्तालाई नियुक्ती पत्र समेत प्रदान गरेका छन् । सरस्वती पुजाका अवसरमा शिक्षक, विद्यार्थी र अभिभावकले सरस्वती माताको पुजा आराधना समेत गरेका थिए । सहायक प्रधानाध्यापक यादव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक किरण पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे