दाङमा राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ४ मतदान स्थलको व्यवस्था



दाङमा राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ४ मतदान स्थलको व्यवस्था

दाङ ११ माघ । भोलि बुधबार हुने लागको राष्ट्रियसभा निर्वाचनको दाङमा तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि हुन लागेको निर्वाचनका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ ।

मतदान स्थलमा सबै तयारी पूरा भएको र विहान ९ बजेबाट मतदान सुरु हुने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका अनुसार ४ वटा मतदान स्थल निर्माण गरेर मतदानको व्यवस्था मिलाइएको छ ।

आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको छ ।

यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बीच प्रतिस्पर्धा हुँदैछ । जस अनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन् ।

एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेद्वार रहनुभएको छ । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । प्रदेश सांसदको मतभार ३ हजार आठ सय ८८ र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार ३ हजार आठ सय ७० रहेको छ । भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे