देउखुरीकाे भालुवाङबाट सुनका गरगहना र नगद सहित दुई जना पक्राउ



देउखुरीकाे भालुवाङबाट सुनका गरगहना र नगद सहित दुई जना पक्राउ

भालुवाङ २६ पुस । देउखुरीको भालुवाङबाट सुनका गरगहना र नगद सहित ईलाका प्रहरी कार्यालय भालुवाङले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं.१ माथिल्लो भालुवाङ बस्ने अन्दाजी १८ वर्षीय बसन्त खत्री र सोही ठाउँ बस्ने २३ वर्षीय खेमराज चौधरी रहेको इप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

गत शनिबार सोही ठाउँ बस्ने गंगादेवी क्षेत्रीको घरको पुजा कोठामा रहेको काठको बाकसको ताल्चा फोडी छालाको हाते पर्समा राखिएको सुनका गरगहना र नगद चोरी भएको भनि पिडितले इलाका प्रहरी कार्यालय भालुवाङमा निवेदन दिएका थिए ।

सोही आधारमा अनुसन्धान गर्दा पक्राउ परेका उनीहरुको साथबाट सुनको बाला ५ थान, मंगल सुत्र २ थान, सुनको सोली ४ थान र निलो बट्टा सहित ६ सय रुपैयाँको चाँदीको सिक्का १ थान गरी अन्दाजी ४ लाख ५२ हजार मुल्य बराबर बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । साथै उनीहरुको साथबाट नगद ३९ हजार ५ सय र रेडमी मोबाईल १ थान बरामद गरेको इप्रका भालुवाङले जनाएको छ ।

पक्राउ परेका खत्री र चाैधरीले दिएकाे बयानका अधारमा खाेजतलास गर्दा गरगहना भने भालुवाङ पुरानो बजारको हनुमानगढी मन्दिर भित्र गाडेर लुकाएको अवस्थामा र मोबाइल १ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकीको बीचमा एक घरको बाहिर त्रिपालमुनी लुकाएको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

पछिल्लो समय भालुवाङ क्षेत्रमा चोरीको घटना बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय भालुवाङले सुरक्षा व्यवस्थामा समेत कडाइ गरेको छ । जाडो मौसममा रातीको समयमा चोरी हुनु दुखद बिषय भएको बताउँदै प्रहरी निरीक्षक भट्टले हामी चौबिसै घण्टा सुरक्षामा खटिएका हुन्छौ तर पनि चोरले कसरी चोरी गरिरहेको छ, यस बिषयमा हामीले गम्भीर अनुसन्धान थालेका छौँँ उनले भने ।

देउखुरी टुडे, रेडियो राप्ती र राप्ती टेलिभिजन संग कुरा गर्दै प्रहरी निरीक्षक भट्टले पिडितहरुले हामीलाई सयममै सही सुचना र जानकारी नदिएकै कारण चोर पत्ता लगाउन समस्या भएको बताए । उनले पिडितहरुले प्रहरीलाई ढिला सुचना दिनु र प्रहरीलाई सबै सही जानकारी नदिएकै कारण चोरहरु उम्किने गरेको बताए । प्रहरी निरीक्षक भट्टले खास गरी चोरी छिमेकी र घरपरिवाटै समेत हुने गरेको अनुसन्धानबाट खुलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे