राप्तीको ३ नम्बर वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी



राप्तीको ३ नम्बर वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

भालुवाङ २३ पुस । देउखुरीको राप्ती गाउँपालिका ३ नम्बर वडा कार्यालयमा आज बिहान अनिश्चितकालिन तालाबन्दी गरिएको छ । कोरोना राहत प्याकेजमा वास्तविक पिडितहरुको नाम सिफारिस नभई गैरपिडितहरूको नाम सिफारिस गरिएको भन्दै राप्ती गाउँपालिकामा कृयाशिल पाँच राजनितिकदलहरूले सयुक्त रुपमा सुचना टाँस गरी वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल सरकार अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा रातह स्वरुप एक पटकका लागि प्रति परिवार रु १० हजारका दरले नगद अनुदान प्रदान गर्ने कार्यक्रम अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ ले कार्यविधि बिपिरित आफूखुसी नाम सिफारिस गरेको भन्दै केही दिनयता स्थानीय पिडित र राजनितिकदलहर आन्दोलित भएका छन् ।

राप्ती गाउँपालिकामा कुल ७०० जनाको नाम सिफारिस गर्नुपर्ने भएमा वडा कार्यालयले वास्तविक पिडित सँगै गैरपिडितहरुको नाम समेत सिफारिस गरिएपछि स्थानीय र राजनितिकदल चरणबद्ध आन्दोलनको कार्यक्रम अन्र्तगत पहिलो चरणमा तालाबन्दी गरिएको आन्दोलनरत नेपाली काँग्रेस ३ नम्बर वडा सभापति श्रीधर खत्रीले जानकारी दिए ।

तालाबन्दी कार्यक्रममा नेपाली काँग्रेस ३ नम्बर वडा सभापति श्रीधर खत्री, नेकपा ऐमालेका सन्तोष अधिकारी, जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका दलबहादुर धर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्ती गाउँपालिका सभापति टेकबहादुर गिरी सहित स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

राप्तीको वडा नम्बर ३ मा २४५ जनाको आवेदन परेकोमा ८३ जनाको नाम सिफारिस गरिएको थियो । वडामा बिरोध र विभिन्न संञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि बुधबार वडा कार्यालयले विज्ञप्ती जारी गरेर आवेदन दिएका मध्येबाटै छुट भएका ९ जनाको नाम थप गरेको जानकारी दिएको छ ।

गैरपिडितहरुको नाम समावेश गरिएको तथ्य फेला परेपछि मंगलवार ३ नम्बर वडा कार्यालयमा स्थानीय राजनितिकदल र पिडितहरुले पत्रकार सममेलन गरी विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे