राप्ती गाउँपालिकाको ५ नम्बर वडाका सवै टोलहरूमा बालविवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने



राप्ती गाउँपालिकाको ५ नम्बर वडाका सवै टोलहरूमा बालविवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने

सिसहनियाँ ९ पुस । राप्ती गाउँपालिकाको ५ नम्बर वडाको सवै टोलमा बाल विवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने भएको छ ।

इन्टर नेश्नल अलर्ट र नेपाल प्रहरीको आयोजना एवम् यु केडको सहयोग तथा सहज र युएनओपिएसको समन्वयमा सामुदायिक अंक पत्र विषयक बाल विवाह न्युनीकरण संवाद कार्यक्रम मार्फत उक्त निर्णय गरिएको हो ।

सेवा प्रदायक र सेवाग्राही बिच भएको संवादमा राप्ती गाउँपालिका बाल विवाह न्युनीकरणमा कमजोर देखिए पछि दुवै पक्षको साझा सहमतीमा कार्यक्रमलाई व्यापक बनाउन वडा नम्बर ५ बाट बाल विवाह न्युनीकरण अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

माघ मसान्त भित्र ५ नम्बर वडाको सवै टोलमा सरोकारवालाहरुको सहभागितामा विभिन्न कार्यक्रम गर्ने । त्यसै गरी प्रहरी र स्थानीय निकायहरु बीचमा सहकार्य गरी बाल विवाह सम्बन्धी कानुनी परामर्श दिने, बाल क्लवहरु पुर्नगठन गरी सक्रिय बनाउने निर्णय गरिएको छ ।

राप्ती गाउँपालिका ६ नम्बर वडा अध्यक्ष वेदप्रसाद चौधरीको अध्यक्षता एवम् उपाध्यक्ष तथा न्यायक समितिका संयोजक जगम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतमा भएको संवाद कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बाल विवाह न्युनीकरण गर्न गाउँपालिका क्रियाशिल नभएको स्वीकार गर्दै आगामी दिनमा सरोकारवालाहरुको समन्वयमा कार्यक्रमलाई व्यवस्थीत तरिकाले अगाडी बढाउने बताएकी छिन् ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, ७ का वडा अध्यक्ष विद्याशरण चौधरी, ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, वडा सदस्यहरु विष्णु गुरुङ, शिवा भट्टराई, प्रहरी चौकी सिसहनियाँका प्रमुख बत्तीकुमार पोख्रेल, सर्वोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा, सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मदन पोख्रेल, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका उपाध्यक्ष नेमलाल बेल्वासे, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, व्यवस्थापक उमेश चौधरी, निगरानी समुहका अध्यक्ष कमला रेग्मी, बाल क्लवका मदन पोख्रेल र रविना भट्टराई, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजीकरण इन्टर नेश्नल अलर्टका प्रतिनिधी कविराम बाँठामगर र सहजकर्ता टिकाराम वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे