कांग्रेस महामन्त्री पदको मतगणना सुरु
काठमाण्डाै १ पुस । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु भएका । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।
छलफल लगत्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा गणना सुरु हुनेछ । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य निर्वाचित हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।