सिसहनियाँमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा शुभारम्भ



सिसहनियाँमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा शुभारम्भ
भालुवाङ २९ मंसिर । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्र्तगत दाङको देउखुरीमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन संगै सेवा शुभारम्भ गरिएको छ ।
देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले उद्घाटन गरेसंगै मन्त्रालयको नियमित सेवा शुभारम्भ भएको हो ।
मन्त्रालयको सेवा शुभारम्भ गर्दै मन्त्री थारुले पूणर् रुपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै उनले अव छिटो भन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारुले प्रदेश सरकारको निणर्य अनुसार सबैको सहयोगमा राजधानीको सफलता संगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।
उनले जतिसके छिटो अस्थाई मुकाम बुटवलबाट सबै मन्त्रालयहरु स्थायी राजधानीमा ल्याउने तयारी भइरहेको बताउनु भयो । त्यसका लागि राप्ती प्राविधिक शिक्षालयलाई पनि स्थान्तर गर्ने प्रक्रिया अगाडी बढेको र शिक्षालय स्थान्तरण हुने बित्तिकै प्रदेश संसद सहित सबै मन्त्रालयहरु शिक्षालयमा स्तान्तर गर्ने बताए ।
मन्त्री थारुले राजधानी कार्यान्वयनका लागि प्रदेश सरकार तीब्र गतिमा अघि बढेको बताए । उनले राजधानी कार्यान्वयका लागि सम्पूणर् देउखुरीबासी सहयोगी बन्न आग्रह गरे । मन्त्री थारुले राजधानी कार्यान्वयका लागि राप्ती गाउँपालिकाले खेलेको भुमिकाको खुलेरै प्रशंसा गरे ।
उनले संघ र प्रदेश सरकारको निति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताए । उनले स्वास्थ्य सेवामा मध्यकालिन तथा दिर्घकालीन रणनितिका साथ काम भै रहेको बताए ।
मुख्य कार्यालय उद्घाटनमा बोल्दै सोही मन्त्रालयकी राज्यमन्त्री विमलाकुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरु भए संगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताइन् ।
साथै मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सचिव डा. विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए ।
निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रवन्ध गर्दै मन्त्रालयलाई पूर्ण रुपमा सेवा दिन तयार बनाईने बताए । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, निति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रुत रुपमा लागिरहेको देवकोटाले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफुहरुले स्थायी राजधानीका लागि सबै कुरा जोखिममा राखेर सहयोग गरेको तर सुस्त सुस्त राजधानीको मेलो सर्दै गरेको बताए । राजधानी ब्यवस्थापनका लागि स्थानीय तह राप्ती-गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताए ।
मन्त्रालयका उप—सचिव राजेन्द्रप्रसाद पन्थीको स्वागत मन्तव्यबाट शुरु भएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं ५ का वडाध्यक्ष गोवर्धन रावत र सिसहनियाँ खानेपानीका अध्यक्ष शान्तराज पन्थी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय बुद्धिजिवी, समाजसेवी, संघसस्ंथा, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्यंसेवीका सुरक्षाकर्मी र पत्रकार लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन मन्त्रालयकी नसिङ्ग अधिकृत नेहा थापाले गरेकी थिइन् ।
नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार (मन्त्री परिषद्) को मिति २०७८/०१/०६ को निणर्यानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे