निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने



निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने

काठमाण्डाै ४ भदाै । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।

दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसाे दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रीय सदस्य र सांसदहरू स्वयम् उपस्थित भएर सनाखत गरेपछि दल दर्ताका लागि प्रस्ताव पेस हुने उहाँले बताए ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित एक सय १५ जना केन्द्रीय सदस्य छन् भने लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल विभाजनसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएपछि एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे