अमेरिकाले आउँदो महिनादेखि कोरोना विरुद्धको खोपको ‘बुस्टर’ डोज लगाउने



अमेरिकाले आउँदो महिनादेखि कोरोना विरुद्धको खोपको ‘बुस्टर’ डोज लगाउने

काठमाण्डाै ४ भदाै । अमेरिकाले आउँदो महिनादेखि सबै अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा लगाउने भएको छ । सबैभन्दा पहिले आठ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धालाई बुस्टर मात्रा दिएर त्यसपछि लगातार सबै नागरिकलाई बुस्टर मात्रा लगाउने अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जाने विवरणहरू प्राप्त भएकाले बुस्टर डोज लगाउन लागेको राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले बताए ।

अमेरिकामा अघिल्लो महिनाको सुरुदेखि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेपछि मास्क लगाउने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न थालेकोमा खोपको बुस्टर मात्रा पनि लगाउन लागिएकाे हो ।

ह्वाइट हाउसले फाइजर र मोर्डना खोप लगाएकाहरूलाई बुस्टर डोज लगाउने निर्णय गरिसकेको र जोन्सन एन्ड जोन्सन लगाएकाहरूका लागि थप अनुसन्धान आवश्यक पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे