काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप



काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाण्डौ २० साउन । काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि थपिएको छ । अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ । कोरोनाको सङ्क्रमण बढ्न थालेकाले भोलिदेखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो ।

यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन ।  स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

यस्तै,  कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । यस्तै, स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको बारे अनुगमन हुनेछ र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोरोना सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ  ।

यस्तै, सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे