तुलसीपुरको बसपार्कमा सडकपेटी मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाइयो



तुलसीपुरको बसपार्कमा सडकपेटी मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाइयो

तुलसीपुर २० साउन । तुलसीपुरको बस पार्क क्षेत्रमा अनाधिकृत रुपमा सडकपेटी मिचेर राखिएका घुम्ती (ढयाब्ली), ठेला, गाडा हटाइएको छ । कोसेली घर र त्यस आसपास क्षेत्रमा सडक मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिएका छन ।

करिब दुई हप्ता अघि कोसेली घर नजिकै एकै आकारमा बनाइएका ५ वटा नयाँ ढ्याब्ली रातको १२ बजे ल्याएर राखिएपछि तुलसीपुर उपमहागनरपालिकाले हटाउन सूचना जारी गरेको थियो ।पाँच वटा ढयाब्ली राख्नेहरु करोडपति भएको भन्दै वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले उनिहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेको बताएका छन ।

“नयाँ ढयाब्ली राख्ने करोडपति हुन् । गरिब होइनन् । त्यही भएर उनिहरुले मध्यरातमा पाँच वटा ढयाब्ली एकैपटक ल्याएर सार्वजनिक स्थानमा जबरजस्ती राखे,” वडा अध्यक्ष शाहले भन्नुभयो –“ हामीले हटाउन पटक पटक भन्यौ । मानेनन् । उनकै कारणले अन्य ठाउँमा बसेका विपन्न वर्गका मान्छेलाई समेत समस्यामा पारे । त्यस कारण उनिहरु गरिब होइनन् गरिब मारा हुन् ।”

३ दिने सूचना जारी गर्दै साउन १० गते सडटकपेटी मिचेर राखिएका ढयाब्ली, ठेला, गाडा हटाउन सूचना जारी गरेपनि अटेरी गरेपछि उपमहागनरपालिको प्रहरीको सहयोगमा मंगलबार डोजर लगाएर हटाएको हो । उपमहानगरपालिकाले डोजर लगाएर पाँच वटा ढब्याली हटाएको थियो भने अन्यले आफै हटाएका थिए ।

अटेरी गर्नेलाई हटायौ : कार्यबाहक मेयर डाँगी
यता तुलसीपुर उपमहानगरपालिका कार्यबाहक नगर प्रमुख श्याम डाँगीले स्थानीय सरकारको नीति र नियमलाई अटेरी गरेर जबरजस्ती सडकपेटी मेचेर राखिएकाले ढयाब्ली र ठेला हटाएको बताएका छन । सबै भन्दा व्यस्त मानिने बस पार्कको सो क्षेत्रमा अनाधिकृत रुपमा ढयाब्ली र ठेला राख्दा दुर्घटनाको जोखिम, बजार अव्यवस्थीत देखिनुका साथै आधुनिक बसपार्कमा समेत चुनौति थपिएकाले उपमहानगरपालिकाले जनप्रतिनिधि आएदेखिनै सडकपेटी मिचेर बनाइएका घर, टहरा, ढयाब्ली, ठेला हटाउँदै आएको बताएका छन ।

ठेला,गाडाका लागि ठाउँ तोएिको छ
व्यवस्थित रुपमा व्यवसाय गर्नका लागि ठेलाहरुका लागि ठाउँ पनि छुट्याएको उपमहानगरपालिकाले जनाएको छ । पातुखोला पुलको उत्तर तर्फ करिब ७/८ कठ्ठा जमिनमा ठेला व्यवसायका लागि ठाउँ छुट्याएको कार्यबाहक नगर प्रमुख डाँगीले बताएका छन । यदि उपमहानगरपालिकाले तोकेको ठाउँमा व्यवसाय गर्नेगरी आएमा ती व्यवसायीलाई दर्ता गरिने डाँगीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे