मेलम्ची बाढी : कटान अझै रोकिएन, विस्थापितलाई बासकै समस्या



मेलम्ची बाढी : कटान अझै रोकिएन, विस्थापितलाई बासकै  समस्या

काठमाण्डाै १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण विस्थापित भएकाहरुलाई बसोबासको समस्या भएको छ । शनिवारदेखि आएको बाढीका कारण विस्थापित भएकालाई बस्ने ठाउँको समस्या भएको हो । बर्खाको समय भएकाले सुरक्षित बासको समस्या भोगिरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए।

प्रभावितले आफ्ना सामानहरु सडकमा नै अलपत्र अवस्थामा राखेका छन् ।  बाढीले अहिले पनि कटान गरिहेकाले जोखिम कम नभएको मेयर अर्यालले बताए । मेलम्ची नगरपालिकाको वडा नम्बर ६ को तालामाराङका केही घर गएराति बगाएको छ भने एउटा गुम्बा पनि ढल्ने अवस्थामा पुगेको छ । यस्तै, बाढीले सडकसञ्जाल ध्वस्त पार्दा आवतजावत ठप्प छ ।

अरनिको राजमार्ग हुँदै मेलम्चीसम्म पुग्न समस्या नभए पनि त्यहाँबाट जाने अन्य पालिकामा आवतजावत ठप्प छ ।  पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बु गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएका छन् ।

मेलम्चीमा जसोतसो विस्थापितलाई खानपानको व्यवस्था भए पनि यी गाउँपालिकामा समस्या भएको छ । यस्तै, बाढीले बिजुलीका प्राय: सबै पोल ढाल्दा प्रभावित क्षेत्रमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । मेलम्ची–९ मा रहेको ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन फेरि बन्द भएको छ भने पाँचखाल वितरण केन्द्रबाट पुर्याइएको बिजुली पनि पोल ढल्दा ठप्प भएको मेयर डम्बरबहादुर अर्यालले बताए ।

गएको  असार १ गते याङ्ग्री खोलामा आएको बाढीका कारण बन्द भएको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन गएको बुधवार मात्र सञ्चालनमा आएको थियो । तर, अस्ति रातिदेखि उत्पादन फेरि बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै ठाउँमा विद्युत् सेवा ठप्प भएको छ । मर्मत गरेर मात्रै बिजुलीको आपूर्ति गर्नु पर्ने भएकाले सेवा सुरु हुन समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे