रामेछापमा खोलाले एउटा पसल बगायो, १ सय ५० घर पहिरोको उच्च जोखिममा



रामेछापमा खोलाले एउटा पसल बगायो, १ सय ५० घर पहिरोको उच्च जोखिममा

रामेछाप १६ साउन । रामेछापमा केही दिनदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले एक पसल बगाएको छ । सुनापति गाउँपालिका – ४ बेथानमा खानीखोलामा शुक्रबार साँझ आएको बाढीले स्थानीय बाबुलाल तामाङको किराना पसल बगाएको हो ।

त्यस्तै सुनापति गाउँपालिका ४ डहुँका गर्जमान तामाङको एक तले ढुङ्गामाटाले बनेको घर र त्यही गाउँका माधव तामाङको गोठ पनि पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी वर्षाका कारण बेथान भलबाडीका शेरबहादुर तामाङको ढुङ्गामाटोले बनेको दुई तले घर पनि पहिरोमा पुरिएको छ ।

यस्तै पहिरोले सुनापति गाउँपालिका–१ गुन्सीभदौरेका ५० घरपरिवारमा क्षति पुर्याएको छ । पहिरोका कारण ८ वटा घर बस्नै नहुने गरि भत्किएका छन् भने ४२ घरपरिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै दोरम्बा शैलुङ्ग गाउँपालिकाका ६० घरहरु पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

यसैगरी लगातारको वर्षाका कारण सुनापति गाउँपालिका–३ हिलेदेवीको डोग्मा वस्तीमा समेत पहिरोले क्षति पुर्याएको छ । यसबाहेक पहिरोले खाँडादेवी गाउँपालिकाको थानसिङका १२ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् ।

त्यसैगरी मन्थली नगरपालिका–१ बसपार्क छेउमा रहेको हिराबहादुर माझीको तीनतले पक्की घर पहिरोका कारण भाँसिएको छ । जोखिम हुने भन्दै घरलाई नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे