नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन



नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

काठमाण्डाै २३ असार । नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकीपख पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ ।वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।

यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ । अरु ठाउँमा पहिरो पन्छाए पनि सेतीदोभानमा भने सडक खुलाउन निकै कठिन भएको छ ।

सडकमा लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘सेतीदोभानमा अवरुद्ध सडक खुलाइए पनि, फेरि हिजो बेलुका सात बजेयता पहिरोले सडक बन्द छ, अहिले पनि खुलाउने प्रयास भइरहेको छ ।’ सडक खुल्दै बन्द हुनेक्रम नरोकिँदा सयौँ गाडी बीच बाटोमै अलपत्र परेका उनले बताए।

यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे