दाङमा साेमबार देखि राष्ट्रिय वृक्षारोपण सप्ताह सुरु, तीन लाख बिरुवा रोप्ने लक्ष्य



दाङमा साेमबार देखि राष्ट्रिय वृक्षारोपण सप्ताह सुरु, तीन लाख बिरुवा रोप्ने लक्ष्य

दाङ १४ असार । डिभिजन वन कार्यालय दाङले आज सोमबार एक कार्यक्रम गरी राष्ट्रिय बृक्षारोपण सप्ताहको शुरुवात गरेको छ । डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण र नेपाल चिकित्सक संघको सहकार्यमा घोराही उपमहानगरपालिका वडा नं ११ हापुरको गणेशपुरमा एक औपचारिकका कार्यक्रम गरी वृक्षारोपण सप्ताह शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख बिजयराज सुवेदीले यो बर्ष तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जानकारी दिए । आजदेखि दाङमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम शुरुवात गरिएको उनले बताए । करिव एक लाख जडिबुटी प्रजाति र दुई लाख बढि काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा रोप्ने योजना अनुसार बिरुवा रोप्ने काम शुरु गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ११ हापुर गणेशपुरको मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो बर्षको बृक्षारोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । मित्र सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल लगायतका प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ ।

राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आजै घोराही उपमहानगरपालिका वडा नं १८ को घोरदौरा कृषि फर्मको आयोजनामा २ हजार टिमुरका बिरुवा, एकिकृत बहुउद्देश्यीय सहकारी कृषि फर्म दुधसारको निजी वन क्षेत्रमा कागति र फलफूलका १ हजार ५ सय बिरुवा र मेट्रो कलेज तुल्सीपुरको जग्गामा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए । डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण र नेपाल चिकित्सक संघको सहकार्यमा हापुरको गणेशपुरमा भएको बृक्षारोपण सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत सुवेदीले बृक्षारोपण र यसको महत्व तथा जिल्लामा यो बर्ष गरिने बृक्षारोपण अभियानका बारेमा जानकारी गराएका थिए ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले सबैको सहकार्यबाट बिरुवा लगाउने र हुर्काउने अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि राना, घोराही उपमहानरपालिका वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछाने, नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डा कुवेर रेग्मी, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी लगायएकाले बृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

दाङको पहाडी क्षेत्रमा जडिबुटि र अन्य क्षेत्रमा काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा राप्नका लागि बिरुवा तयारी अवस्थामा रहेको सूचना अधिकारी केसीले बताए । जडिबुटीका बिरुवा रोप्नेलाई प्रोत्साहन स्वरुप प्रति बिरुवा तीन रुपैया र अन्य बिरुवाहरु डिभिजन वन कार्यालयले निशुल्क उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे