यमनको युद्ध सर्वाधिक खराब मानवीय सङ्कट : राष्ट्रसङ्घ



यमनको युद्ध सर्वाधिक खराब मानवीय सङ्कट : राष्ट्रसङ्घ

काठमाण्डाै १४ असार । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनमा कम्तीमा एक सय ११ जनाको ज्यान गएको छ । हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएका भिडन्तमा २९ जना सैनिक र ८२ जना विद्रोही मारिएका समाचारसंस्था एएफपीले जनाएको छ ।

मरिब उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र ठाउँ हो । गएको बिहीवारदेखि आक्रमण सुरु गरेका विद्रोहीहरु मरिबको भित्री तहमा प्रवेश गर्न प्रयास गरिरहेका छन् । उनीहरुलाई रोक्न सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हातमाथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय सङ्घसंस्थाहरुले बताएका छन् ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमन गृहयुद्धमा दशौं हजारको ज्यान गइसकेको छ । यमनका ८० प्रतिशतभन्दा धेरै मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसङ्घले यमनको युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । संयुक्त राष्ट्र सङ्घ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि सफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे