प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा सरकारी पक्षको बहस आजदेखि



प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा सरकारी पक्षको बहस आजदेखि

काठमाण्डाै १४ असार । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदैछ । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस हिजो सकिएपछि आजदेखि सरकारी अर्थात रिटको विपक्षी तर्फको बहस सुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बहस हुनेछ । पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ ।

निवेदक पक्षका वकिलहरुले बहसको क्रममा बहुमत सांसद पक्षमा रहेको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर आदेश दिन माग गरेका छन् । वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको उनीहरुको तर्क छ ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति कार्यालयमा पेस गरिएको प्रस्ताव तथा सर्वोच्च अदालतमा रिट दर्ता गरेका विघटित प्रतिनिधि सभाका एक सय ४६ सांसदलाई पनि वैकल्पिक सरकार गठनको आधारका रुपमा उल्लेख गरेका छन् ।

रिट निवेदकका कानुन व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे