सार्वजनिक सवारी सञ्चालनको तयारी, जोरबिजोर प्रणाली लागू हुने



सार्वजनिक सवारी सञ्चालनको तयारी, जोरबिजोर प्रणाली लागू हुने

 काठमाडौं १४ असार । सरकारले काठमाण्डौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन संचालन गर्न दिने तयारी गरेको छ । आईतवार उपत्यकाका तिन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यसबारे थप निर्णय सोमवार बस्ने बैठकले गर्ने उनको भनाई छ । सोमवारको बैठकले उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको तीनवटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको प्रजिअ पराजुलीले बताए ।

प्रजिअ पराजुलीले उपत्यकामा संक्रमण दर केहि घटेको भएपनि विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरु समेत आएको उहाँले जानकारी दिए ।

अहिले निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा चलेपनि सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन । यातायात व्यवसायीहरुले तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न सरकारलाई दवाब दिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे