आउँदो मंगलवार सम्म भारी वर्षा हुने
काठमाण्डौ ६ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन सम्म विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दिउँसो र राति देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर मौसम बदली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ। राति देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।