दाङमा जडिबुटी खेतीका लागी निशुल्क विरुवा उपलब्ध गराईने



दाङमा जडिबुटी खेतीका लागी निशुल्क विरुवा उपलब्ध गराईने

दाङ ५ असार । डिभिजन वन कार्यालय दाङले जडिबुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निःशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति विरुवा ३ रुपैया नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ ।

दाङ जिल्ला सुगन्धकोकिला(मालगेडी), टिमुर, दालचिनी, कुरीलो, अमला, सर्पगन्धा लगाएतका जडिबुटीको व्यावसायिक खेतीको प्रचुर संभावना बोकेको जिल्ला भएकोले यहाँ जडिबुटीका खेती गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्नका लागि यस वर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सहकारी मार्फत जडिबुटी बिस्तार कार्यक्रमबाट यो बर्ष करिव ७५ हजार जडिबुटिका बिरुवा रोप्ने गरी कार्यक्रम अघी बढाइएको डिभिजन वन कार्यालयय दाङका प्रमुख बिजयराज सुवेदीले जानकारी दिए । उनका अनुसार जडिबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका ५ वटा वडाहरु र घोराही उपमहानगरपालिकाका २ वटा गरी जम्मा ७ वटा वडामा जडिवुटी खेती बिस्तार कार्यक्रम शुरु गरिएको छ ।

यो कार्यक्रम अन्र्तगत किसानहरुलाई टिमुर, तेजपात र मालागेडी जातका विरुवाहरु निशुल्क उपलब्ध गराइने छ । आफ्नो खेर गईरहेको वा कम उत्पादनशिल निजी जग्गामा जडिबुटी खेती गरी किसानहरुलाई व्यवसायिक र उद्यमी बनाउने र यही अभियान मार्फत गाँउ गाँउमा समृद्धिको मार्ग प्रशस्त गर्ने कार्यक्रमको उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर के.सी.ले जानकारी दिए । यसका लागि किसानले कम्तीमा दुई कठ्ठा क्षेत्रफलमा बिरुवा रोपण गर्नु पर्ने व्यवस्था अघि सारिएको छ ।

यो व्यवस्था अुनसार २ कठ्ठा जमिनमा ५/५ मीटरको दुरीका हिसावले पुरै जग्गामा जडिबुटीका बिरुवा लगाउँदा करीव २५ वटा बोट लगाउनु पर्ने ब्यवस्था गरिएको छ । यसरी लगाईएका जडिबुटी विरुवा हुर्काउने किसानलाई अनुगमन पछि प्रति जिवित विरुवा ३ रुपैया का दरले स्यहार संभार प्रोत्साहन प्रदान गरिने डिभिजनल वन अधिकृत सुवेदीले जानकारी दिए ।

किसानलाई दिने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले आँफैले उत्पादन गरेका बहुवर्षिय (ठुलो साईज पुगेका) टिमुर, दालचिनी र मालागेडी हुने र नपुग विरुवा खरिद गरेर समेत दिन सकिने सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए । डिभिजन वन कार्यालय दाङको सहयोगमा जडिबुटी खेतीका विस्तार कार्यक्रमका लागि लक्षीत वडामा स्थानीय सहजकर्ता परिचालन गरी जडिबुटीको बिरुवा रोप्न चाहने किसानको लगत संकलन गर्ने काम भइरहेको कार्यक्रम कार्यान्वन गर्ने जिम्मा पाएको सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडामा एक जनाका दरले सात जना सहजकर्ता र सहकर्तालाई परिचालन गर्ने १ जना सुपरभाईजर परिचालन गरी अहिले किसानहरुले लगाउन खोजेको जडिबुटिको बिरुवा, जडिबुटीको जात र परिमाण, जडिबुटी लगाउने जग्गाको क्षेत्रफल, बिरुवा ढुवानी र वितरणका लागि सुरक्षित स्थानमा व्यवस्थापन र बितरणको लागि आवश्यक रणनिति बनाउने काम गाउँतहमा भइरहेको छ । विरुवा वितरण तथा वृक्षारोपण सहजकर्ताहरुलाई जडिबुटी खेती विस्तार सम्बन्धि ज्ञान तथा सीप विकास सहजकर्ताहरुलाई अभिमुखीकरण गरी काममा लगाइएको सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था दाङका अध्यक्ष पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशको निती तथा कार्यक्रममा दाङ जिल्ला पनि जडिबुटीको लागि प्रसिद्ध जिल्ला भएको भन्दै जडिबुटि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । कार्यालयले गत बर्ष टिमुर बर्ष कार्यक्रम घोषणा गरि एक लाख बढि बिरुवा लगाएको थियो । गत बर्ष लगाइएकका अधिकाम्स बिरुवा हुर्किएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे