महासेठलाई उपप्रधानसहित परराष्ट्रको जिम्मेवारी, ईश्वर पोखरेल सहित एमालेका धेरै मन्त्री हटाइए



महासेठलाई उपप्रधानसहित परराष्ट्रको जिम्मेवारी, ईश्वर पोखरेल सहित एमालेका धेरै मन्त्री हटाइए

काठमाण्डाै २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाउँदै पुरानो मन्त्रिपरिषद्समेत हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरूको अहिले राष्ट्रपति निवास शीतल निवासमा शपथ ग्रहण समारोह हुँदैछ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्री सरकारमा सहभागी हुँदैछन् । ठाकुर पक्षबाट नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री बन्दै हुनुहुन्छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्रीमा अनिल झा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विमल श्रीवास्त, वन तथा वातावरण मन्त्रीमा उमाशंकर अगरिया, भूमि सुधार मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी र युवा तथा खेलकुदमा एकबाल मियाँले शपथ लिँदै हुनुहुन्छ । यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङले पनि शपथ लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले अहिले सरकारमा रहेका एमालेका चार जनाबाहेक अरू मन्त्रीलाई पनि पदमुक्त गर्नुभएको छ । अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, यातायात मन्त्री वसन्त नेम्वाङ र कानुन मन्त्री लीलानाथ श्रेष्ठबाहेक सबै पदमुक्त भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल हट्नुभएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली मन्त्रीबाट हट्नुभएको छ, उहाँको ठाउँमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रूपमा रघुवीर महासेठले शपथ लिँदै हुनुहुन्छ । यस्तै अर्थ मन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रीबाट हृदयेश त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ ।

रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओली आफैँले राख्नुभएको छ । एमालेबाट मन्त्री बनेका ईश्वर पोख्रेल, प्रेम आले, प्रदीप ज्ञवाली, पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ, गणेश ठगुन्ना, भानुभक्त ढकाल र जुली महतो पदमुक्त हुनुभएको छ । जुली महतो र आज उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नुभएका रघुवीर महासेठ श्रीमान्–श्रीमती हुनुहुन्छ । यसअघि श्रीमान् महासेठ यातायात मन्त्रीबाट पदमुक्त भएपछि श्रीमती महतो महिला मन्त्री बन्नुभएको थियो । अहिले जुली महतो पदमुक्त हुँदा उहाँका श्रीमान् रघुवीर महासेठ उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री बन्नुभएको छ ।

यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज रावत, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि पदमुक्त भएका छन् ।

उज्यालो अनलाइनसँगको कुराकानीमा नेता महासेठले आफू देशको आवश्यकताअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री बन्न लागेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले देशको आवश्यकताअनुसार मलाई नियुक्त गर्ने जानकारी आयो, शपथको तयारी गर्दैछु’, महासेठले भन्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिन लाग्नुभएको छ । उज्यालोसँगको कुराकानीमा नेता तामाङले प्रधानमन्त्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको यसलाई चुनौती र अवसर दुवैको रूपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे