लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी



लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी

बुटवल १९ जेठ । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमै आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।

प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना सांसदसहति दाबी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दाबी गरेकाले सरकारले वैधानिकता गुमाएको उनीहरुको दाबी थियो ।

कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खानले अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्ति भए पनि सरकार सोही धाराको २ जस्तो देखिएको बताए । “राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ । आज ३० दिन पुगेको छ । कि उहाँले विश्वासको मत लिनुपर्छ । नभए उनले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” खानले भने । उनले अब जालझेल गरेर कहिलेसम्म बस्ने ? भन्दै प्रश्न पनि गरे । उनले प्रदेशसभा छलेर बजेट ल्याउने सुनिएको भन्दै त्यस्तो नगर्न चेतावनी पनि दिएका छन् ।

माओवादी केन्द्रका सदस्य सुदर्शन बरालले अवैधानिक रुपमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिनुबाहेक अरु विकल्प नरहेको बताए । सपथ खुवाउँदा पनि प्रदेश प्रमुखलाई बोरामा राखेर आफ्नो कार्यकक्षमा ल्याएका मुख्यमन्त्रीले नीति कार्यक्रम ल्याउने र सरकार चलाउने हैसियत नराख्ने उनको भनाइ थियो । प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्ता लिप्त एमालेले आफ्नो दलसमेत फुटाएर लगेको बताए । प्रदेशमा जसपाका ६ मध्ये ४ सदस्य अहिले सरकारमा सहभागी छन् ।

प्रदेशसभामा कांग्रेसका वीरबहादुर राना, माओवादी केन्द्रका इन्द्रजीत थारु, राजमोका तारा जिसी लगायतले बोल्दै सरकारको आलोचना गरेका थिए । वैधानिकता गुमाएको सरकारले संसद् छलेर अध्यादेशबाट बजेट ल्याएमा त्यसको प्रतिकार गर्ने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे