बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै, आज ४ बजे बजेट सार्वजनिक हुँदै



बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै, आज ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौं १५ जेठ। बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ । डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।

यता आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे