हतियारधारी समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण, असईसहित पाँच प्रहरी घाइते



हतियारधारी समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण, असईसहित पाँच प्रहरी घाइते

सुनसरी १४ जेठ । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।

अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा त्यहाँ ड्युटीमा रहेका पाँचजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो । लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित अन्य प्रहरी पनि घाइते भएको प्रहरी निरीक्षक ओलीले बताए ।

असई दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इन्सपेक्टर ओलीले बताए । आक्रमणकारीहरुको खोजी भइरहेको उनले बताए । जाहेरी दिन आएका लिम्बूलाई कसले के विवादमा धम्की दिएको हो त्यसबारे भने केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे