दाङका एक संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात



दाङका एक संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

नेपालगन्ज १४ जेठ । कोरोना संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै नेपालगन्ज स्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

घटनामा चार नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात सुरु भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन् । ‘बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं । आफ्नै ज्यान बचाउन शौचालयमा लुकेर बस्नुपर्ने घटना भयो,’ उनले भनिन् ।

परिवारलाई जानकारीबिना भेन्टिलेटरमा राखेर उपचार गराउँदा मृत्यु भएको भन्दै रावतका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । स्वास्थ्यकर्मीहरूलाई लखेट्दै हातपात गर्न थालेपछि अस्पतालमा हल्लीखल्ली भएको थियो । आईसीयूमै छिरेर जाइलागेपछि चिकित्सकहरूले केहीबेर काम बन्द गरेका थिए । स्थिति तनावपूर्ण भएपछि अस्पतालमा प्रहरीले सुरक्षा दिएको थियो ।

घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको बाँकेका एसपी ओमबहादुर रानाले बताए । घटनालगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति प्रतिनिधिले छलफल गरेर दोषीलाई कारबाही गर्ने र अस्पतालमा भयरहित वातावरण बनाउने विषयमा परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे