LISTEN LIVE RADIO

देउखुरीको राप्तीले आम्दानीको नयाँ स्रोत खोज्दै, सामुदायिक वनमा व्यवयायिक फलफूल खेती शुरु



देउखुरीको राप्तीले आम्दानीको नयाँ स्रोत खोज्दै, सामुदायिक वनमा व्यवयायिक फलफूल खेती शुरु

भालुवाङ २० साउन । बिशेष गरी स्थानीय सरकारले आम्दानीको नयाँ स्रोत खोज्न कि त करको दर बढाउने, कि त करको दायरा बढाउने प्रचलन छ । तर दाङ—देउखुरीको राप्ती गाउँपालिकाले भने आफ्नो आम्दानी बढाउन नयाँ स्रोत खोज्न थालेको छ । पालिकाले गत असारमा ल्याएको निति तथा कार्यक्रम अनुसार आम्दानीको स्रोतका रुपमा सामुदायिक वनमा नै व्यवसायिक फलफूल खेतीलाई लिएको छ ।

देशमा अहिले तीन तहको सरकार छ । यति बेला तीनै तहको सरकार चलाउन निकै सकस भइरहेको देखिन्छ । सरकार चलाउन कै लागि संघ, प्रदेश र स्थानीयतहले प्रत्येक बर्ष नै करको दर हेरफेर गर्ने र करको दायरा बढाउने काम गरिरहेको पाइन्छ । तर दाङ—देउखुरीको राप्ती गाउँपालिकाले भने आफ्नो आम्दानी बढाउन नयाँ कार्यक्रम शुरु गरेको छ । पालिकाले गत असारमा ल्याएको निति तथा कार्यक्रम अनुसार आम्दानीको स्रोतका रुपमा सामुदायिक वनमा नै व्यवसायिक फलफूल खेतीलाई लिएको छ ।

जस अन्र्तगत यस बर्ष राप्ती गाउँपालिका—८, पिपरीमा रहेको शंकर सामुदायिक वन उपभोक्ता समूहका खाली क्षेत्रमा फलफूल प्रजातिको बृक्षारोपण गरिएको छ । २०४८/०४९ साल तिर रोपिएका रुखहरु नबढ्ने बरु सुक्ने भएकोले ती रुखहरुलाई हटाएर समूहलाई समेत आम्दानी हुनेगरी फलफूल प्रजातिका बिरुवा रोप्न थालिएको शंकर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलाध्वज मल्ले जानकारी दिए ।  उनले उत्पादन भएको फलफूल बिक्रीबाट प्राप्त आम्दानीको २५ प्रतिशत गाउँपालिकालाई र ७५ प्रतिशत वन समूहले राख्ने गरी सहमति भएको बताए ।

सामुदायिक वन मै फलफूल खेती गरेर आम्दानी हुने भएपछि वन समूहका उपभोक्ताहरु समेत हौसिएका छन् । गाउँपालिकाले वन समूह संग मिलेर फलफूल खेतीबाट आम्दानी गर्ने गरी बृक्षारोपण गर्न पाउँदा एकदमै खुसी लागेको वन समूहका उपभोक्ताहरुले बताएका छन् ।

उक्त सामुदायिक वन क्षेत्रको करिब पाँच बिघा बढी क्षेत्रफलमा झाँडी सफाई गरी दसहरी प्रजातिको आँप एक हजार पिस र अम्बा दुई सय पिस गरी कुल एक हजार दुई फलफूल प्रजातिको बिरुवा रोपिएको राप्ती गाउँपालिका—८, नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

बिगतका दिनमा वनका खाली क्षेत्रमा सिसौ, खयर लगायतका बिरुवा रोपेको भएपनि खासै नहुर्किने र मर्ने भएको हुँदा सामुदायिक वन समूहलाई आम्दानी समेत नभएपछि फलफूल खेतीबाट वन समूहलाई आम्दानी संग जोड्नु पर्छ भनेर वन समूहको सहकार्यमा सामुहिक फलफूल खेती शुरु गरिएको वडाध्यक्ष गुरुङ्गले बताए ।

सामृद्धिका लागि वन भन्ने मूल नाराका साथ यस आर्थिक बर्ष देखि सामुदायिक वन संगको साझेदारीमा फलफूल खेतीबाट वन समूह र स्थानीय सरकारलाई समेत आम्दानी संग जोड्नका लागि फलफूल प्रजातिको बिरुवा रोप्न थालिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए ।
उहाँले सिजनमा समेत भारत र अन्य ठाउँबाट बिषादी प्रयोग भएको फलफूल खानु पर्ने बाध्यता हटाउन र पालिकालाई नै फलफूलमा आत्मानिर्भर बनाउन यो अभियान शुरु गरिएको बताइ ।

अध्यक्ष बिष्टले बीस बर्ष पहिले रोपेका रुखबाट अहिले सम्म पाँच हजार सम्म पनि आम्दानी नहुने भएको हुँदा वनको खाली भुभागमा फलफूल प्रजातिका बिरुवा रोप्न थालिएको बताए । उनले दुई बर्षपछि एक हजार रुखबाट फलेको फलफूल बिक्रीबाट वन समूह र पालिकालाई लाखौँ आम्दानी हुने विश्वास समेत व्यक्त गरे ।

उक्त बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, विद्यार्थी र वन समूहका उपभोक्ताहरु गरी दुई सय बढीको सहभागिता रहेको थियो । सरकार सञ्चालनकै लागि दिर्घकालिन रुपमा मानिएको गतिलो आम्दानीको स्रोतलाई अब राप्ती गाउँपालिकाले पालिकाका सबै सामुदायिक वन संग जोड्न जरुरी छ ।

यो कार्यक्रमले वन समूह, उपभोक्ता र पालिकालाई समेत गतिलो आम्दानी हुने भएको हुँदा वन संग समृद्धि भन्ने नारालाई अब ब्यापक बनाउन जरुरी छ । जहाँ इच्छा, त्यहाँ उपाय भने जस्तै पालिकालाई नै समृद्धि बनाउने यो सिको अन्य पालिकाले पनि सिक्न र लागु गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे