LISTEN LIVE RADIO

दैलेखकी एक महिला ४ सन्तान सहित कर्णालीमा हाम फालिन , २ छोरीको शव भेटियो



दैलेखकी एक महिला ४ सन्तान सहित कर्णालीमा हाम फालिन , २ छोरीको शव भेटियो

सुर्खेत २५ फागुन । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तान सहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरी सहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए । उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे