LISTEN LIVE RADIO

सामुदायिक वन उपभोक्ता महासंघ संघीय समितीकाे तेस्राे पूर्ण बैठक पाल्पाकाे दमकडामा शुरू



सामुदायिक वन उपभोक्ता महासंघ संघीय समितीकाे तेस्राे पूर्ण बैठक पाल्पाकाे दमकडामा शुरू

पाल्पा ३० फागुन । सामुदायिक वन उपभोक्ता महासंघ संघीय समितीको तेस्रो बैठक आज बुधबार देखि पाल्पाको तानसेन नगरपालिका-९, दमकडामा शुरू भएको छ । बैठकको उद्घाटन गर्दै बागमति प्रदेशकी सांसद तथा वन महासंघकी पूर्व केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ता समूहहरू अहिले पनि तेहेरो करको मारमा रहेको बताएकी छिन् । उनले संघीय कानुनका कारण अहिले पनि सामुदायिक वन समूहहरू तेहेरो करको मारमा रहेको आरोप लगाइन् ।

बैठकको प्रमुख अतिथीको आसनबाट बोल्दै सांसद पाठकले प्रदेश सरकार आफू कसरी बलियो हुने नाममा वन समूहका अधिकारहरू कटौती गर्दा समेत संघीय सरकार मूकदर्शक भएर बस्नु निकै दुखद बिषय भएको बताइन् । उनले प्रदेश सरकारले बनाएका कानुनहरू संघीय सरकारले नहेर्दा सामुदायिक वन समूहहरू मारमा परेको आरोप लगाइन् । व्यवस्था परिवर्तन गर्न सामुदायिक वन समूह लागेको स्मरण गर्दै सांसद पाठकले व्यवस्था परिवर्तन पछि वन समूहलाई तेहेरो कर लगाएर मारमा पार्ने काम गरियो ।

यो कार्य निकै निन्दनीय भएको बताइन् । उनले सामुदायिक वन समूहहरू पछिल्लो समय संरक्षणकर्ता मात्र भएको बताउँदै वन पैदावार निकासी, उपभोक्ताहरू सामुदायिक वनका उत्पादनहरू उपभोग गर्नबाट समेत बञ्चित गरिएकोमा आपत्ति प्रकट गरिन् । अहिले बिदेशबाट व्यापक काठहरू स्वदेश भित्र्याउने तर सामुदायिक वनमा भएका काठहरू कुहाएर जाने परिस्थिति सिर्जना भएको दुःख व्यक्त गरिन् । सांसद पाठकले कानुनमा नै सामुदायिक वन समूहहरू स्वायत्त संस्था भएको व्याख्या गरिएको भएपनि ब्यबहारमा त्यस्तो नभएको जिकिर समेत गरिन् ।

वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको बैठकलाई सम्बोधन गर्दै वन महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई काठ र पैसासंग मात्र तुलना गरिएको बताए । उनले सामुदायिक वन काठ र पैसा मात्र नभई संस्कार, परम्परा, संस्कृति, वातावरण र समाजको मुल्यमान्यता रहेको बताए । अध्यक्ष भण्डारीले अहिले पछिल्लो समय सामुदायिक वनलाई काठ र पैसा संग मात्र हेर्दा संस्कार, परम्परा, संस्कृति, वातावरण र समाजको मुल्यमान्यता ध्वस्त हुँदै गएकोमा आरोप लगाए । उनले सामुदायिक वनको संरक्षण नै सामाजिक संरक्षण भएको बताउँदै वन संरक्षणका सवालमा राज्यका तीनै तहका सरकार गम्भीर हुन आग्रह समेत गरे ।

यस्तै बैठकलाई सम्बोधन गर्दै पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकारले सामुदायिक वनमा गरेको लगानी अनुसार आम्दानी नभएको बताए । उनले वन ऐनमा समेत सामुदायिक वनको आम्दानीमा स्थानीय सरकारले कर लगाउन पाउने अधिकार भएपनि सामान्य वन कार्ययोजना समेत स्वीकृत गराउन सामुदायिक वन समूहहरूले इन्कार गरेको आरोप लगाए । अध्यक्ष श्रेष्ठले स्थानीय सरकारको लगानी अनुसार सामुदायिक वन समूहले पनि सरकारलाई कर तिर्नुपर्ने बताए ।

वन महासंघ पाल्पा जिल्ला समितीका अध्यक्ष कृष्ण श्रेष्ठको स्वागत मन्तव्य तथा स्थानीय वन महासंघकी अध्यक्ष भवानी गौतमको समूहको स्वागत गीतबाट शुरू भएको बैठकको उद्घाटन सत्रलाई माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिंदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, वन महासंघका केन्द्रीय निर्वतमान उपाध्यक्ष भिमप्रकाश खड्का, वन महासंघका केन्द्रीय संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपाने, वन महासंघ कै पूर्व केन्द्रीय अध्यक्ष भिमप्रसाद श्रेष्ठ, तानसेन नगरपालिका ९, नम्बर वडाध्यक्ष राजेशकुमार अर्याल र डिभिजन वन कार्यालय पाल्पाका निमित्त प्रमुख संयोग बस्नेत लगायतका वक्ताले वन संरक्षण र सामुदायिक वन समूहका सवालमा आ-आफ्नो धारणा राख्नुका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय वन महासंघ तानसेन नगर समितीकी सचिव सुनिता शर्माले गरेकी थिइन् ।

बैठकमा वन महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, सात वटै प्रदेशका पदाधिकारी, बैठकस्थल पाल्पा सहित छिमेकी जिल्लाका सामुदायिक वन महासंघका पदाधिकारीहरू गरी एक सय बढीको सहभागिता रहेको छ । बैठकले पाल्पा घोषणा-पत्र समेत जारी गर्ने बताईएको छ । बैठक चैत १ गते सम्म चल्ने महासंघले जनाएको छ । बैठक सञ्चालनका लागि स्थानीय वन महासंघ तानसेन नगर समितीले व्यवस्थापन मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे