LISTEN LIVE RADIO

लुम्बिनीका कृषि मन्त्री अहिरद्वारा पदबाट राजीनामा दिएकाे १५ दिनपछि पदभार ग्रहण



लुम्बिनीका कृषि मन्त्री अहिरद्वारा पदबाट राजीनामा दिएकाे १५ दिनपछि पदभार ग्रहण

दाङ २४ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजबादीबाट कृषि मन्त्री बनेका भण्डारीलाल अहिरले १५ दिनपछि आज साेमबार पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री जाेखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका कृषि तथा भुमि व्यवस्था मन्त्री अहिरले १५ दिनपछि मन्त्री पदभार ग्रहण गरेका हुन् । केन्द्रमा आइतवार जनता समाजबादी पार्टी विभाजन भएपछि अशाेक राई नेतृत्वकाे पाटीमा लागेर उनले साेही मन्त्रालयमा पदभार ग्रहण गरेकाे मन्त्रीकाे सचिवालयले जनाएकाे छ । गत चैत २३ गते विना विभागीय मन्त्री बन्नु भएका अहिरलाई वैशाख ६ गते मुख्यमन्त्री महराले कृषि तथा भुमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी दिएका थिए ।

मन्त्री भएको तीन दिनमा बैशाख ९ गते पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए । महराकाे नेतृत्वमा सरकार गठन गर्दा चैत २२ गते जसपालाई दुई मन्त्रालय दिने ७ बुँदे लिखित सहमति भएको थियो । वैशाख ६ गते सात सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा जसपाबाट थप एक जना मन्त्री नथपिएपछि सहमति मुख्यमन्त्रीले पालना नगरेको भन्दै अहिरले पदबाट राजीनामा दिएका थिए। बाँके निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित अहिले पदभार ग्रहणपछि मन्त्रायलाई बन्धक बनाइ राख्न नहुने भएकोले सपथ ग्रहण गरेर काममा लागेको बताए ।

अहिरले मन्त्री पदबाट राजीनामा दिएपनि मुख्यमन्त्री महराले स्वीकृत गरेका थिएनन् । मन्त्री अहिरले अशाेक राई नेतृत्वमा रहेको पाटीबाट मन्त्री पदमा पदभार ग्रहण गरेको बताए । उनले एउटै जिल्ला बाँकेबाट ३ जना सांसद रहेकाे जसपाका सांसदहरू एकैठाउँमा रहेकाे समेत बताए । मन्त्री अहिर सहित तीन सांसद असाेक राई नेतृत्वकाे जसपामा लागेपछि लुम्बिनीमा उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपाल शून्य भएकाे छ । अहिरले पदभार ग्रहण गरेपछि १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय मुख्यमन्त्री महराले आफै राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे