LISTEN LIVE RADIO

सामुदायिक वनमा देखिएको कानुनी जटिलता अन्त्य गर्न तयार छौं : मुख्यमन्त्री महरा



सामुदायिक वनमा देखिएको कानुनी जटिलता अन्त्य गर्न तयार छौं : मुख्यमन्त्री महरा

भालुवाङ २४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले नयाँ वन नीति बनाएर अगाडी बढ्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले सोमवार अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा आयोजित कृषि, वन नीतिगत छलफल तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले सो कुरा बताएका हुन् ।मुख्यमन्त्री महराले सामुदायिक वनले भोग्दै आएको समस्या आफुलाई राम्रो सँग थाहा भएकोले सामुदायिक वन र उपभोक्ताहरुलाई असर नपर्ने गरि कानुनहरुमा देखिएको समस्या, अस्पष्टता, कतिपय छुटेका र कतिपय बाँझिएका अप्ठ्यारा कानुनका कारण काम गर्न असहज पैदा भइरहेकोले त्यस्ता समस्या समाधान गर्न प्रदेश सरकार क्रमश अगाडी बढ्ने र त्यसका लागि सामुदायिक वनका पदाधिकारीहरुलाई छलफल, बहस गर्न सुझाव दिएका छन् । सामुदायिक वन तथा उपभोक्ताहरुबाट आएका सुझावका आधारमा वन ऐनलाई संशोधन गर्दै नयाँ नीतिलाई अझ सजिलो बनाउने गरि काम गर्ने बताएका छन् ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तथा प्रतिनिधिहरुले सामुदायिक वन तथा उपभोक्ताहरुले तीनै तहका सरकारले अहिले सामुदायिक वनमा देखिएका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । त्यस्तै उनीहरुले सामुदायिक वन मार्फत उद्यम सन्चालन गर्ने प्रशस्त सम्भावनाहरु भएपनि कानुनी झन्झटले गर्दा उद्यम विकास र विस्तार गर्न नसकेको भन्दै उपभोक्ताहरुले भोग्दै आएको समस्या तथा नीतिगत रुपमा सुधार गर्नुपर्ने पक्षको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्क बस्नेत, प्रदेश सांसदहरु प्रचण्ड विक्रम न्यौपाने, लोका विक, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद भण्डारी, वन मन्त्रालयका सचिव मोहन प्रसाद काफ्ले, लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे