LISTEN LIVE RADIO

बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, केही घर भत्किए



काठमाडौँ १० माघ । नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।  भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।

यता भूकम्पमा परेर एक जनाको मृत्यु बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ । अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताइन् । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।

यता नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बाजुरा केन्द्र भई मंगलबार दिउँसो गएको भूकम्पबाट पुगेको क्षतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठक चलिरहेका बेला सभामुखसँग समय लिएर बोलेका सांसद पाण्डेले बाजुरा भूकम्प र यसबाट पुगेका क्षतिबारे संसदलाई सरकारले जानकारी गराउनुपर्ने माग राखेका हुन् ।

‘आज दिउँसो करिब पौने ३ बजे बाजुराको मेला भन्ने ठाउँ केन्द्र बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । क्षतिको विवरण आउने क्रममा छ,’ उनले भने, ‘सरकारले यस विषयमा जानकारी लिएर संसदलाई क्षतिको विवरण जानकारी गराओस् । त्यसका लागि सभामुखको रूलिङको अपेक्षा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे