LISTEN LIVE RADIO

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एमालेबाट कुमार दसाैदी उम्मेदवार, कांग्रेसकाे टुंगो लाग्न बाँकी



दाङ १० माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्तारूढ दलबाट एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गर्ने भएका छन् । बुधबार निर्वाचन अधिकृतकाे कार्यालय घाेराहीमा सत्तारूढ दलकाे तर्फबाट उनले उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसले अझै उम्मेदवारकाे टुंगो लगाइसकेकाे छैन । तीन जना व्यक्तिकाे नाम सिफारिस भएको र केन्द्रले एक जनाकाे नाम टुंगो लगाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड न्याैपानेले जानकारी दिए ।

कांग्रेसबाट दाङका वीरकेसरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस भएको छ । यी नाममध्येबाट एक जना उम्मेदवार बन्नेछन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देही निवासी खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए । उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट पाएनन् । यसपालि हुन थालेकाे राष्ट्रियसभा सदस्य निर्वाचनमा समेत उनलाई पार्टीले पत्याएन ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जना मतदाता रहेका छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र बाँकी स्थानीय अन्तरगत २१८ मतदाता रहेका छन् ।

माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ । माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय, दाङले जानकारी दिएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन् ।

त्यसैगरी, ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे