LISTEN LIVE RADIO

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै, शपथ अघि सर्वदलीय बैठक बस्दै



प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै, शपथ अघि सर्वदलीय बैठक बस्दै

काठमाण्डाै ७ पुस । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।

मातृभाषामा शपथ लिन चाहने सांसदलाई जानकारीका लागि आज बिहान ११ बजेसम्मको समय दिइएको छ । प्रतिनिधि सभाको सभामुख र उप सभामुख चयन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि अन्त्य भएको छ ।

गएको मङ्सिर ४ गते भएको चुनावपछि गठित प्रतिनिधि सभाको कार्यकाल पनि सुरु भएको छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार प्रतिनिधि सभाको यो दोस्रो कार्यकाल हो ।

यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको  थियो । शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन । राष्ट्रपतिबाट सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान भइसकेको छ  ।

शपथअघि  ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक बोलाएका छन्। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले  सर्वदलीय बैठक आह्वान गरेका छन्।  बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता  रहनेछ । प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् । यसैबीच नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे