प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै



प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

काठमाण्डाै १८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिइ आज स्वदेश फर्कँदै छन् ।

प्रधानमन्त्री नेतृत्वको टोली आज कतार एयरवेजको उडानबाट दोहा हुँदै दिउँसो २ बजे काठमाण्डौ आइपुग्नेछ । प्रधानमन्त्री सहितको नेपाली टोली गएको १२ गते लण्डन गएको थियो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहनुभएकाले उहाँ बाहेक भ्रमण टोलीमा रहनुभएका अन्य सबैजना स्वदेश फर्किँदै छन् ।

स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्यान्डको इडेनवर्गमा रहेको रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै यो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा राेपेका थिए ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधानमन्त्री देउवाले गएको सोमवार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भइ वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे