लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माणको काम तीव्र



लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माणको काम तीव्र

दाङ ८ असाेज । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रूपमा प्रशासनिक पूर्वाधार निर्माण शुरू भएको दुई वर्ष नपुग्दै ५० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ ।

२०७९ साल फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर प्रशासनिक भवनको तत्कालीन मुख्यमन्त्री लीला गिरीले शिलान्यास गर्नुभएको थियो । भवन बनेपछि मन्त्रालय, विभाग, निर्देशनालय, मातहतका अन्य कार्यालयहरूले एकै थलोबाट सेवा प्रवाह गर्नेछन् । अहिलेसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । अब एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण भइरहेको छ ।

१९ बिघा क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । प्रदेशसभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, भौतिक संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरूपता प्रदान गर्ने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । निर्माणाधीन भवनमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ६ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, बैठक कक्ष र बहुउद्देश्यीय हलसहित ९६ वटा कोठा रहनेछन् । जसमा दुई वटा ‘लिफ्ट’ रहने छन् भने भुइँ तला अपाङ्गतामैत्री हुनेछ । उज्यालाे अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे