दाङको राप्ती गाउँपालिकामा साना चिस्यान केन्द्र स्थापना, किसान खुसी



दाङको राप्ती गाउँपालिकामा साना चिस्यान केन्द्र स्थापना, किसान खुसी

सिसहनियाँ ८ असोज । किसानले उत्पादन गरेका फलफूल, तरकारी लगायतका उपजको बजार मूल्य बेसिजनमा बढी हुन्छ । तर संचित गरी राख्ने ठाउँ नहुँदा किसानले उत्पादनको राम्रो मूल्य पाउन सकेका छैनन् ।

दाङको राप्ती गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपजलाई संचित गरी बेसिजनमा बजार सम्म पु¥याउन तथा उत्पादित फलफूल तथा तरकारी कुहिन नदिने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा पहिलो पटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा साना चिस्यान केन्द्र स्थापना गरिएको हो । नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाको ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा सो केन्द्रको स्थापना गरिएको हो । चिस्यान केन्द्र बनेपछि गाउँपालिका भित्रका किसानको कृषि उपजलाई भंण्डारण गरी लामो समय सम्म सञ्चित गरिराख्न सकिने नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्थाका सचिव हरिप्रसाद भुसालले बताए । किसानको कृषि उपजलाई संचिती गर्न सहज होस् भन्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरिएको सचिव भुसालले बताए ।

गाउँपालिकामा फलफूल तथा तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्दछ । तर चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ । आफ्ना उत्पादनले बजार नपाएको भन्दै लामो समय देखि किसानले चिस्यान केन्द्रको माग गर्दै आएका थिए । चिस्यान केन्द्र स्थापना सँगै तरकारी तथा फलफूल किसानहरु खुसी भएका छन् । चिस्यान केन्द्र नहुँदा आफुहरुले उत्पादन गरेको तरकारी तथा फलफूल लामो समय सम्म टिकाउन गाह्रो भएको बेला चिस्यान केन्द्र स्थापनाले राहत मिलेको केरा किसान रणप्रसाद सुवेदीले बताए ।

यसै बीच चिस्यान केन्द्रको मंगलबार लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थारुले चिस्यान केन्द्रको स्थापना हुनु यस क्षेत्रका कृषकहरुको लागि महत्वपूर्ण उपलब्धि भएको बताए । अहिलेको युगमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउँदै प्रदेश सभा सदस्य थारूले यस किसिमका संरचनाहरूले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न र उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । त्यस्तै प्रदेश सभा सदस्य थारूले सरकार कृषकहरूको हितका लागि सधैं तत्पर रहेको र यस्ता परियोजनाहरूको माध्यमबाट कृषकहरूको जीवनस्तर उकास्न प्रयासरत रहेको बताए ।

कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चिस्यान केन्द्रको स्थापनाले स्थानीय कृषकहरूको उत्पादनलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत गर्ने र त्यसबाट उनीहरूले आफ्नो उपजको उचित मूल्य प्राप्त गर्न सक्ने बताए । चिस्यान केन्द्र स्थापना भए सँगै यस क्षेत्रका कृषकहरूले भोग्नु परेका समस्याहरुबाट मुक्त हुने अध्यक्ष विष्टको विश्वास रहेको छ । त्यस्तै अध्यक्ष विष्टले चिस्यान केन्द्रको सफल सञ्चालन र दिगो उपयोगिताको कामनासहित स्थानीय कृषकहरूलाई यसको अधिकतम लाभ उठाउन आग्रह गरे ।

४ मेट्रिक टन तथा ४० क्वीइन्टल भण्डारण गर्न सक्ने क्षमता भएको चिस्यान केन्द्रमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल लगायतका बस्तुहरु भण्डारण गरिने संस्थाका सचिव हरिप्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाको कृषि शाखा सँग समन्वय गरि न्यून भण्डारण शुल्क निर्धारण गरिने संस्थाका सचिव भुसालले जानकारी दिए । पालिकाले गत वर्ष देखि नै सो चिस्यान केन्द्र नजिकै तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरि सञ्चालन गरेको छ भने कृषि एम्बुलेन्स खरिद गरि सञ्चालनको तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे