जथाभावी एन्टिबायोटिक सेवनले ज्यान जान सक्छ, समयमै सचेत बनौं : अध्यक्ष विष्ट



जथाभावी एन्टिबायोटिक सेवनले ज्यान जान सक्छ, समयमै सचेत बनौं : अध्यक्ष विष्ट

भालुवाङ ९ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा विकराल समस्या बन्दै जान थालेको बताएका छन् ।बुधवार राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र काठमाण्डौले दाङको राप्ती गाउँपालिका १ भालुवाङमा आयोजना गरेको प्रतिजैविक प्रतिरोध सम्बन्धी पैरवी तथा सञ्चार कार्यक्रममा यस्तो बताएका हुन् । अध्यक्ष विष्टले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र खानुपर्ने होे । तर हामी कहाँ जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर परेको छ, ‘सानो रोग लाग्यो कि डाक्टरकोमा जानुको सट्टा मेडिकलमा गएर एन्टिबायोटिक खाने चलन छ, रोग छिटो निको होस् र नतिजा चाडै आवस भन्ने बानीका कारण पनि घातक रोग लाग्ने र ज्यान समेत जाने गरेको बताएका छन् । चिकित्सकले सिफरिस गरेको पूरा औषधि नखाने, औषधी पसलेले उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै औषधी दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन पुगेको अध्यक्ष विष्टले बताएका छन् । उनले यस प्रकारका गलत क्रियाकलाप रोक्न स्वास्थ्य संस्थाहरुको अनुगमन, नियमन गर्ने र समुदाय तथा विद्यालय स्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।नेपालमा मानिस र पशुपंक्षी दुवैमा जीवाणु बलियो हुँदै गइरहेको पाइएको छ । कतिपय संक्रमणमा पहिलो र दोस्रो तहका एन्टिबायोटिकले काम गर्न छोडिसकेको स्वास्थ्य विज्ञहरु बताउँछन् । पशु पंक्षीको उपचारमा हुने गलत एन्टिबायोटिकको प्रयोग र उपचारको अवधी पूरा नभई उपभोक्ता माझ पु¥याउने चलन, अनुगमनको अभाव, आयातित कुखुराका दाना, कखुरामा समेत एन्टिबायोटिकको व्यापक प्रयोग हुनु र त्यसको अनुगमन नुहुनुले एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताएका छन् । खेतीमा प्रयोग हुने पेस्टिसाइडको अनियन्त्रित प्रयोग, कृषि तथा पशुपालन व्यवसायमा अनुगमन नहुँदा समस्या तीव्र भइरहेको उनले बताए ।

जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब ५० लाख मानिसको मृत्यु हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कुवरले बताए । जैविक प्रतिरोधी संक्रमणको उच्च जोखिममा नेपाल रहेको छ । ‘सानो सानो संक्रमणले पनि मानिसको मृत्यु भइरहेको उनले बताए । यसको रोकथाम तर्फ ध्यान नदिने हो भने ठुलो दुर्घटना हुन सक्ने उनले बताए । एन्टिबायोटिक प्रतिरोधी संक्रमणको जोखिमबाट जनस्वास्थ्यलाई बचाउन एक पक्षको भूमिकाले मात्र सम्भव नभएकाले सफाइ, कृषिविज्ञ, खाद्य तथा गुण नियन्त्रण विभाग, पशुव्यवसायी तथा विज्ञ र उपभोक्ता र स्वास्थ्यकर्मी सबैको भूमिका आवश्यक भएको उनले बताएका छन् ।लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा प्रवक्ता नोद नारायण चौधरीले नेपालमा स्वास्थ्यको नीति तथा कानुन राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण स्वास्थ्यमा समस्या उत्पन्न हुने गरेको बताए । कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पशु तथा कृषि चिकित्सक, कर्मचारी, सञ्चारकर्मी लगायत ४० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृतहरु अनुप अधिकारी र हरिकृष्ण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे