दाङको राप्ती गाउँपालिकामा पुन जग्गाको निस्सा वितरण कार्य सुरु



भालुवाङ ४ वैशाख ।  दाङको राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबार देखि पुन जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ।

दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर ९ काे वडा कार्यालय रुपाकाेटबाट निस्सा वितरण कार्यकाे सुरुवात गरिएको हाे। वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यतामा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको थियो ।

निस्सा वितरण गर्दै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताइन् ।  उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताइन्। ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भनिन्। ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा छिट्टै हुने उपाध्यक्ष चौधरीको भनाई थियो ।

वडाध्यक्ष सुनारी मगरका अनुसार सो वडामा २ सय ४२ घरधुरी अव्यवस्थित बसोबासी र ८ घरधुरी भूमिहीन दलितले फाराम भरेका छन् । साेमबार निस्सा नपाएका वडाबासीलाई वडा कार्यालयमा सम्पर्क गर्न वडाध्यक्ष सुनारी ले आग्रह समेत गरिन्। यस्तै क्रममा मंगलबार वडा नम्बर ५ मा, बुधबार वडा नम्बर ६ मा, बिहीबार वडा नम्बर ७ मा र शुक्रबार वडा नम्बर ८ मा साे निस्सा वितरण कार्यक्रम हुने राप्ती गाउँ पालिकाकाे भूमि सेवा केन्द्रका प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिएका छन् । यस अगावै पहिलो चरणमा वडा नम्बर १ देखि ४ सम्म निस्सा वितरणको कार्य सम्पन्न भई सकेको समेत प्रमुख गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे