कुमाल समुदायको पुर्खौली पेशा तर्फ नयाँ पुस्ताको आकर्षण बढ्दै



भालुवाङ २२ चैत । दाङ—देउखुरीको गढवा गाउँपालिका वार्ड नम्बर १ का गाजुराम थारु कुमाल उमेरले ६७ बर्ष पुगे । उनी जन्मेदेखि नै यो माटोको भाडा बनाउने पेसा गर्दै आएका छन् । यथपी उनी मात्र होइन उनका पुर्खाहरु समेत यही माटोको भाडा बनाउने पेसा गर्दै आएका थिए । त्यही पेसालाई पछ्याउँदै गाजुराम अहिले सम्म पनि निरन्तर त्यही माटोको भाडा बनाउने पेसा गर्दै आएका छन् ।

कुनै समय माटोका भाडाले बजार पाउन मुस्किल थियो । त्यति बेला घर—घरमा माटोका भाडा लैजाँदा समेत बडो मुस्किलले बजार पाउने गथ्र्यो । त्यति बेला कुमाल समुदायको माटोको भाडा बनाउने पेसा नै संकटमा थियो । तर अहिले त्यही गाजुरामलाई आजभोली भ्याइनभ्याई छ । बिहान उठेदेखि नसुत्नुन्जेल सम्म उहाँ त्यही माटोको भाडाहरु बनाउनु हुन्छ । उहाँले बनाएका भाडाहरु लिन उहाँ कै उद्योग सम्म गाडी लिएर दाङ सहित छिमेकी जिल्लाका ब्यापारीहरु आउने गरेका छन् ।

अहिले बजारमा माटोबाट बनेको खुत्रुके, गमला, करुवा लगायतका भाडाहरुको माग रहेको गाजुराम बताउँछन् । उनले एक लटमा ५० हजार सम्मका भाडाकुडाहरु बिक्री गर्छन् । एक लटको बिक्रीबाट सबै खर्च कटाएर २०/२५ हजार सम्म नाफा हुने गरेको गाजुरामले भने । बार्षिक रुपमा भने उनले सबै खर्च कटाएर तीन लाख सम्म नाफा हुने गरेको बताउँछन् । अहिले गाजुराम आफ्नो पेसा प्रति खुसी मात्र होइन एकदमै सन्तुष्टि रहेकाे बताउँछन् ।

त्यस्तै सोही ठाउँका सुन्दरप्रसाद थारुकुमाल पनि लामो समय देखि यही माटोको भाडा बनाउने पेसा गर्दै आएका छन् । उनी पनि आफ्नो पेसा प्रति एकदमै सन्तुष्टि भएको बताउँछन् । उनले बनाएका माटाका भाडाहरु लिन बाँके, प्यूठान, रोल्पा, कपिलबस्तु र लुम्बिनीबाट उहाँ कै घर सम्म ब्यापारीहरु आउने गरेको बताए । उनले पनि गाजुरामले जस्तै एक लटमा ४०/५० हजार सम्म आम्दानी गर्ने गरेको बताए ।

कुनै समय बडो मुस्किलले कहिँकतै मात्र प्लाष्टिकका भाडाहरु देखिन्थे । त्यति बेला बजारमा होस् या भान्सामा माटोका भाडाहरु मात्र देखिन्थे तर पछिल्लो समय गाउँ देखि शहर सम्मका बजारहरुमा एक छत्र प्लाष्टिकका भाडाले कब्जा गरेको छ । चाहे त्यो बजारमा होस्, या त्यो भान्समा नै किन नहोस् । जताकतै प्लाष्टिक कै भाडाले कब्जा गरेको छ ।

तर अहिले भने अवस्था फेरिएको छ, प्लाष्टिकका भाडाले कब्जा गरेको त्यही बजार अहिले माटोको भाडाले बिस्तारै बजार पाउन थालेको छ । कुनै समय माटोको भाडा बनाएर जिबिको पार्जन गर्दै आएका कुमाल समुदायको पेसा संकटमा थियो । तर अहिले भने तिनै कुमाल समुदायले उत्पादन गरेको माटोको भाडाले बजार पाउन थालेपछि पेसा छोडेका तिनै कुमाल समुदायहरु पुनः आफ्नो पेसामा फर्किन थालेका छन् ।

अहिले उनीहरु जस्तै कुमाल समुदायका नयाँ पुस्ताहरु समेत यो माटोको भाडा बनाउने पेसा तर्फ आकर्षित बन्न थालेका छन् । आफ्नो पेसा व्यवसाय छोडेर अन्य पेसा व्यवसाय रोजेका तिनै कुमाल समुदाय बिस्तारै आफ्नै पुख्यौली पेसा तर्फ फर्किन थालेको कुमाल सुधार समितीका केन्द्रिय सदस्य ललित कुमालको भनाई छ ।

यता स्थानीय सरकारले समेत कुमाल समुदायको परम्परागत पुर्खौली पेसालाई संरक्षण, सम्बद्धन गर्न बजेट नै बिनियोजन गरेर विभिन्न कामहरु गर्दै आएको छ । कुमाल समुदायको माटोको भाडा बनाउने पेसा नै नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संकट रहेको यो पेसालाई लोप हुनबाट बचाउन गढवा गाउँपालिका पहल लिएको छ ।

यो पेसामा तिनै कुमाल समुदायका युवाहरुको आर्कषण बढाउन र अहिलेको समयसापेक्ष व्यवसाय बनाउने गरी यसै आर्थिक बर्ष भित्र आधुनिक किसिमले माटोको भाडा बनाउने तालिम सञ्चालन गर्ने र अवलोकन भ्रमण समेत गराउने गरी योजना बनाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (विश्वास)ले बताए । साथै उनले उत्पादन भएका माटोका भाडाहरुको बजार प्रबद्धनका लागि अन्य पालिकाहरु संग आवश्यक समन्वय तथा छलफल समेत भइरहेको बताए ।

यदि यसरी नै कुमाल समुदायका पम्परागत माटोको भाडा बनाउने पेसालाई संरक्षण, सम्बद्धन र प्रद्धधन गर्न सक्ने हो भने नेपाली पहिचान स्वदेश मात्र नभई बिदेशमा झल्किने छ । यसले नेपाली बजार मात्र नभई बिदेशी बजारहरुमा पनि निर्यात गर्न सक्ने हो भने पैसा कमाउन कै लागि बिदेश जाने बाध्यता केही हद सम्म कम हुने थियो । तसर्थ अब स्वदेश मै रोजगार सिर्जना गर्ने कुमाल समुदायको यो पेसा जस्तै अन्य पेसालाई पनि राज्यको तर्फबाट पहलकदमी लिने हो भने हजारौँ नेपाली युवाहरु स्वदेशमै स्वरोजगार बन्ने थिए की ?

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे