राप्ती गाउँपालिकामा डेंगुबाट बच्न खोज र नष्ट गर अभियान चलाइने



राप्ती गाउँपालिकामा डेंगुबाट बच्न खोज र नष्ट गर अभियान चलाइने

भालुवाङ ८ असोज । दाङको राप्ती गाउँपालिकाले डेंगु रोग लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय दाङ सहित देशैभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले लामखुट्टेको बासस्थान खोजी गरि नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
स्वास्थ्य शाखाले डेंगी रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको मुख्य–मुख्य बजार क्षेत्रमा विषेश अभियान चलाउने भएको छ । सोही विषयका लागि मंगलवार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले डेंगु लगायत किटजन्य रोगहरुको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि पालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने र वडास्तरमा अभिमुखिकरण सहित टोल–टोलमा जनचेतनामुलक कार्यक्रम सँगै अभियानमा विद्यार्थी, जनप्रतिनिधि र टोल विकासलाई बढी मात्रमा परिचालन गर्ने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । गाउँपालिका भित्रका ९ वटै वडाहरुमा सो अभियान सँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।

पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेंगीको जोखिम समेत बढ्दै गएकोले सो अभियान सुरू गर्न लागेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । डंगी रोग एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट बच्न घर बाहिर बस्दा वा वनजंगलमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्ने लगायतका कार्यहरु गर्न चिकित्सकहरूको भनाई रहेको छ ।

एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन समेत शाखा प्रमुख रावतले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे