पाखापानी स्थित राप्ती नदी छेउमा कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानको भवन निर्माण हुँदै



भालुवाङ २२ चैत । दाङको देउखुरीमा सहिद कृष्णसेन इच्छुक स्मृति सञ्चार प्रतिष्ठानको भवन निर्माण गर्न थालिएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका १ पाखापानी स्थित राप्ती नदीको १ नम्बर इन्टेक छेउमा रहेको जग्गामा भवन निर्माण गर्न थालिएको हो । पाखापानी निवासी समाजसेवी तथा राजनीतिज्ञ गञ्जबहादुर विष्टले स्व. बुवा/ आमा भिमबहादुर विष्ट, गाैमती विष्ट र स्व. बुहारी रचना विष्टको सम्झनामा १० धुर जग्गा उपलब्ध गराएपछि सो भवन बन्न लागेको हो ।

लुम्बिनी प्रदेशको तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट २५ लाख बजेटले १ तले भवन निमार्ण गर्न थालिएको हो । सो भवन जेष्ठ मसान्तसम्म सक्ने गरि सम्झौता भएको राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् । यसै बीच बन्न लागेको भवनको लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै पुर्व मुख्यमन्त्री केसीले महान सहिद कृष्णसेन एक सञ्चारकर्मी मात्र नभएर साहित्यकार र राजनितीज्ञ समेत भएकोको स्मरण गराउँदै सेनको प्रेरणाले राजधानी क्षेत्रमा प्रतिष्ठान निर्माणले एउटा छुट्टै चिनारी हुने र उहाँका कृतिहरू समेत सजाएर राख्ने बताएका छन् । भवन निमार्णले यस क्षेत्रका सञ्चारकर्मी र साहित्यकारहरूलाई कार्यक्रम गर्न समेत सहज हुने बताएका छन् ।

कार्यक्रममा जग्गादाता गञ्जबहादुर विष्ट, नेकपा माओवादीका बसन्त नेपाली, राप्ती गाउँपालिका २ नम्बर वडाका निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, १ नम्बर वडा सदस्य चुमानसिंह खत्री, समाजसेवी खुमराज पोख्रेल, इन्जिनियर अशोक बेल्वासे, पत्रकारहरू महेश रिजाल, ओमप्रकाश गुप्ता, बासुदेव न्याैपाने, सन्तोषकुमार गुप्ता, श्रीधर कडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार मानसिंह विकले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे