LISTEN LIVE RADIO

राप्ती ९ र बंगलाचुली ८ जोड्ने झाेलुङ्गे पुलको उद्घाटन



सिसहनियाँ २९ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्वर ९ र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर ८ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार आज उद्घाटन गरिएको छ ।

लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नुभएको हो । पुल निर्माण उपभोक्ता समितका अध्यक्ष खुम बहादुर गाहा मगरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा पुलको उद्घाटन गरीएको हो । साे अवसरमा बाेल्दै अध्यक्ष बिष्टले पुल बनेपछि यस क्षेत्रका जनताहरुकाे दैनिकी सहज हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा गाउँपालिकाले विकट बस्तीहरुका जनताहरुलाई लक्ष्यित गरि कार्यक्रम तथा याेजनाहरू अगाडि बढाउने बताए ।

राप्ती गाउँपालिकाको ३ लाख ८६ हजार २ सय १रुपैयाँ ७९पैसा ,संघीय सरकारकाे झाेलुङ्गे पुल क्षेत्रगत कार्यक्रमकाे २५ लाख २५ हजार १ सय ६६ रुपैयाँ र स्थानीय उपभोक्ताहरुकाे ५९ हजार ४ सय १५ रुपैयाँ ६६ पैसा जनश्रमदान गरी जम्मा २९ लाख ७० हजार ७ सय ८३ को लागतमा पुलको निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाका पुर्वाधार बिकास शाखाका प्रमुख ईन्जिनियर अशाेक बेल्वासेले जानकारी दिनु भएको छ। सो पुलबाट राप्ती गाउँपालिका वडा नम्वर ९ र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का करिब १ सय ७५ घरधुरीका ९ सय २३ जनसंख्या लाभान्वित हुने भएका छन् ।

पुल बने सँगै वर्षातकाे समयमा जाेखिम माेलेर खाेला तर्ने साे क्षेत्रका नागरिकहरुकाे बर्षै देखिको बाध्यताकाे अन्त्य भएकाे छ। कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर, ईन्जिनियर अशोक बेल्वासे, पशुसेवा शाखाका अधिकृत दामाेदर आचार्य, समाजसेवी चित्र बहादुर थापा मगर लगाएत स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे