LISTEN LIVE RADIO

भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने



भालुवाङ १७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले गर्ने भएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा सञ्चालन हुन लागेको महोत्सवको उद्घाटन गर्न मन्त्री यादवलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महोत्सवको उद्घाटन विहान ११ बजे हुने भएको छ । “कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा –बोटिङ, मौतका कुवा, चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहने छन् ।
महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न किसिमका स्टलहरुको दररेट समेत कायम गरिएको छ । त्यस्तै महोत्सवको पहिलो दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । यता महोत्सव स्थलमा धमाधम स्टल तथा मञ्च निमार्णको काम र अतिथि पत्रचार लगायतका काम भइरहेको संघका महासचिव नारायण शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे