LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाका विद्यार्थीहरू नयाँ साइकल पाएपछि खुसी



भालुवाङ २० पुस । दाङको राप्ती गाउँपालिकाको वडा नम्बर ४ र ६ मा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बुधवार नयाँ साइकल वितरण गरिएको छ ।क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालले राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा राप्ती गाउँपालिका वडा नम्बर ४ नयाँगाउँमा रहेको जनज्योती आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत अति गरिव, विपन्न तथा दलित १० जना छात्राहरूलाई ९० हजार बराबर र राप्ती गाउँपालिका वडा नम्बर ६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ जना छात्राहरूलाई २ लाख रुपैयाँ गरि कुल २ लाख ९० हजार रुपैयाँ बराबरको नयाँ साइकल वितरण गरेको सिपी नेपालकी विद्यार्थी संयोजक गिता चौधरीले जानकारी दिएकी छिन् ।

दुवै वडाका विद्यार्थीहरु नयाँ साइकल पाएपछि खुसी समेत भएका छन् । घरबाट पैदल हिडेर विद्यालय आउँदा र जाँदा निकै दुख पाएका विद्यार्थीहरु साइकल पाएपछि खुसी भएका हुन् । साइकल नहुँदा समयमा विद्यालय पुग्न नसक्ने र घर पुग्न समेत अबेर हुने गरेको जनज्योती आधारभुत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताइन् । उनी जस्तै अन्य थुप्रै विद्यार्थीहरुले साइकल नभएकै कारण स्कुल जान नमान्ने तथा समयमा विद्यालय पुग्न नसक्ने समस्या रहेको थियो । सिपी नेपालले विद्यार्थीहरूलाई पढाइ प्रति थप आकर्षित गर्न साइकल वितरण गर्ने गरेको छ ।नयाँ गाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता मल्लको अध्यक्षता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा शाखा प्रमुख विश्वास विक, सिपी नेपालका विद्यार्थी संयोजकहरु दिपा चौधरी, मनोज श्रेष्ठ तथा महिला संयोजक सरिता चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र राप्ती गाउँपालिकाका प्रेस परामर्शदाता तुलबहादुर कवर मगर लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कुलराज जैशीले गरेका थिए ।

२०६४ सालमा दाङको गढवा गाउँपालिकामा सिपी नेपालले शाखा स्थापना गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निमार्ण गर्ने देखि लिएर महिला शसक्तिकरणका लागि पनि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले जानकारी दिएकी छिन् ।२० जना पुर्व कम्लहरीबाट काम सुरुवात गरेको सिपी नेपालले ५६ ओटा आमा समुह गठन गरि १ हजार बढी सदस्य विस्तार गरेको छ । भने हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ सय भन्दा बढी साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे