निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङको राप्तीमा हुँदै



निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङको राप्तीमा हुँदै

भालुवाङ १३ जेठ । नेपाल निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका अन्र्तगत देउखुरीको राप्ती गाउँपालिकामा हुने भएको छ । संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारी संहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मुल नाराका साथ जेठ १४ गते शनिबार देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरियामा हुन लागेको हो ।

पेसागत महासंघ नेपालमा आबद्ध देश कै ठुलो घटक निजामति क्षेत्रको पहिलो ट्रेड युनियनका रुपमा रहेको यस संगठनको प्रथम अधिवेशन कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको आयोजकले जनाएको छ । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका एक सय बढी प्रतिनिधि र ५० बढी परिवेक्षक गरी करिब दुई सय जनाको सहभागिता रहने र प्रतिनिधि, परिवेक्षक तथा अतिथीहरु आउने क्रम जारी रहेको आयोजक नेपाल निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटीका सचिव शेरबहादुर केसीले जानकारी दिए ।

अधिवेशन उद्घाटन नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज छविलाल विकले गर्नु हुने कार्यक्रम रहेको संगठनका सचिव केसीले बताउनु भयो । साथै उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षद्धय भवानी दाहाल, रेमन्त गौतम र महासचिव जीवन गौतम लगायतका नेताहरु कार्यक्रममा आउने आयोजक कमिटीका सचिव केसीले जानकारी दिए ।

कार्यक्रममा सहिद सुरेन्द्रबहादुर विश्वकर्माको जीवनसंगिनी जनदेवी विकलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको आयोजकले जनाएको छ । तत्कालिन कर्मचारी युनियनका सदस्य समेत रहेका बाँके जिल्ला निवासी सुरेन्द्रबहादुर द्धन्द्धकालका समयमा मुगु जिल्लामा कार्यरत रहेको बेला कार्यालयबाट कोठा तर्फ पर्किने क्रममा बिद्रोही समूहले अपहरण गरी हत्या गरेको थियो । साथै तत्कालिन सरकारले स्वर्गीय सुरेन्द्रबहादुरलाई सहिद समेत घोषणा गरेको थियो ।

एक दिन मात्र चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन माथि छलफल सहित पारित गर्नुका साथै प्रदेश निजामति सेवा ऐन माथि संगठनको तर्फबाट आवश्यक राय पेस गर्ने र दाङ जिल्ला घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजक निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे