LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीका स्थानीय नागरिक भन्छन्- ‘अब बल्ल राम्रा दिन सुरु भएजस्तो लाग्दैछ’



लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीका स्थानीय नागरिक भन्छन्- ‘अब बल्ल राम्रा दिन सुरु भएजस्तो लाग्दैछ’

भालुवाङ १४ कात्तिक । ‘लुम्बिनी प्रदेशको राजधानी घोषणाको निर्णय सँगै पासपोर्ट थन्काएर व्यवसायमा जुटेको छु’, राप्ती गाउँपालिका वडा नम्वर २ का जगत खनालको भनाइ हो यो ।

बैदेशीक रोजगारका क्रममा मलेसियामा एक दशक बिताउनुभएका खनालले आफ्नो क्षेत्र प्रदेशको राजधानी भएसँगै स्वदेशमै केही गरौं भन्ने निर्णयमा पुगेर पासपोर्ट थन्काएर किराना पसल सुरु गरेको बताए ।

प्रदेश सरकारको निर्णयले स्थानीयहरुमा उत्साह थपेको बताउँदै उनले रोजीरोटीका लागि विदेशमा पसिना बगाउने दिन गएजस्तो लाग्ने गरेको बताए । ‘प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानीका रुपमा देउखुरी क्षेत्रलाई चयन गरेको समाचार आएको दिनदेखि मन हर्षित भएको छ ।

अब विदेशमा पसिना बगाउने दिन गएजस्तो लाग्छ’, खनालले भने, ‘हाम्रो हर्ष व्यवहारमै लागु हुने दिनको पर्खाइमा छौं । राजधानीका संरचना बनेसँगै रोजगारीका अवसर सिर्जना हुनेमा बिश्वस्त छौं । संरचना निर्माण गर्दा भविष्यको सम्भावनालाई मध्यनजर गर्नुपर्दछ । जग्गा व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।’

प्रदेश सरकारको निर्णयले लमहीका खुसीराम चौधरीको मुहारमा पनि खुसी थपिदिएको छ । लमही बजारमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएका खुसीरामले आफ्नो कृषिजन्य उत्पादनले बजार पाउनेमा बिश्वस्त रहेको बताए ।

‘तरकारी बेचेर घरखर्च चलाउने गरेको छु । घरघरसम्म पुगेर तरकारी बेच्नुपर्छ । भनेजस्तो मूल्य पाइदैन’, साइकिलमा राखेर तरकारी बेच्दै गरेका खुसीरामले भने, ‘राजधानीको निर्णय भएको दिनदेखि घडेरी खोज्न गाउँगाउँमा मान्छेहरु आएको देख्दा अब छिट्टै बजार बिस्तार हुन्छ र आफ्नो उत्पादनले बजार पाउँछ भन्ने लागेको छ ।’

खनाल, चौधरीजस्तै गढवाका चेतनाथ पौडेल पनि राजधानीको निर्णयले उत्साहित छन् । विगत चार वर्षदेखि गढवा बजारमा कपडा पसल सञ्चालन गर्दै आएकाे पौडेलले राजधानीको निर्णयसँगै कारोबार ह्वात्तै बढेको बताए ।

‘राजधानीको निर्णयले स्थानीयहरुमा उत्साह थपेको छ । व्यापार बढ्दै गएको छ’, पौडेलले भन्नुभयो, ‘पहिले यो क्षेत्र छाडेर गएका व्यवसायीहरु पनि फर्किन थालेका छन् । राम्रा दिन फर्केर आएजस्तो लागेको छ ।’

खनाल, चौधरी र पौडेल त उदाहरण मात्रै हुनुहुन्छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीका स्थानीयहरु उत्साहित मात्रै छैनन्–राजधानीको संरचनाको बहसमा जुटेका छन् । कुन स्थानमा कुन संरचना निर्माण गर्ने ? भन्ने विषयमा घोत्लिन समेत थालेका छन् ।

राप्ती गाउँपालिका वडानम्वर २ लालमटियामा निजी विद्यालय सञ्चालन गर्दै आउनुभएका शोभाखर भुसालले राप्ती गाउँपालिकालाई प्रशासनिक र शैक्षिक केन्द्र, अर्घाखाँचीको शितगंगालाई पर्यटकीय र गढवालाई औद्योगीक क्षेत्र बनाउनुपर्ने बताए ।

प्रदेशको राजधानी अवसर र चुनौति दुवै भएको भन्दै नागरिक अगुवा निमबहादुर थापाले देउखुरीबासीले यो ऐतिहासिक जिम्मेवारीलाई बहन गर्नुपर्ने बताए । प्रदेशको मध्यविन्दूमा रहेको राप्ती उपत्यका देउखुरी क्षेत्रलाई प्रदेशको राजधानी बनाउने प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै थापाले संरचना निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

राजधानीको संरचना निर्माणसँगै देउखुरीबासीले विकास र रोजगारी प्राप्त गर्ने अपेक्षा गरेको भन्दै थापाले नमुनायोग्य संरचना निर्माण गर्नुपर्ने बताए । लामो समयदेखि देउखुरी क्षेत्रमा रहेको जग्गा व्यवस्थापन गर्दै बस्ती विकास गर्नुपर्ने थापाको भनाइ छ ।

साभार – गाेरखापत्र

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे