LISTEN LIVE RADIO

राप्तीको ४ नम्बर वडाले लोप हुँदै गइरहेको कुवाको संरक्षण गर्दै



राप्तीको ४ नम्बर वडाले लोप हुँदै गइरहेको कुवाको संरक्षण गर्दै

भालुवाङ २८ वेशाख । दाङको एउटा वडा कार्यालयले आफ्नो वडा भित्र लोप हुन लागेको कुवा संरक्षणमा जुटेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ मा सयौं बर्ष अगाडी बनेका प्राचीन कुवाहरु लोप हुन थालेपछि यसको संरक्षणमा वडा कार्यालय जुटेको हो ।  विभिन्न टोलमा रहेका प्राचीन कुवाहरु अहिले कति त हराईसके भने कति लोप हुने अवस्थामा रहेका छन् । तीनै लोप हुन लागेको जनकपुर टोलको ६५ वर्ष पुरानो र खिनैटा त्रिवेणी चोकमा रहेको १ सय वर्ष पुरानो कुवालाई मर्मत सम्भार गरी संरक्षण गर्न थालेको वडा वडा अध्यक्ष बीरबहादुर चौधरीले बताए । आधुनिकिरण सँगै नयाँ नयाँ प्रविधिको विकासले संयौं वर्ष देखि जोगाएर राखेको कुवा लोप हुन थालेको र भावी पुस्तालाई समेत कुवा कस्तो थियो भनेर देखाउनका लागि पनि कुवा संरक्षणमा जुटेको वडा अध्यक्ष चौधरीले बताए ।

अहिले उक्त जीर्णोद्धार दुवै कुवाको आर्थिक वर्ष २०८०÷०८१ को २ लाख लागतमा मर्मत गरिनुको साथै टहरो समेत बनाइएको छ । पुरानो कुवा संरक्षणका लागि वडा कार्यालय जुटेपछि अहिले स्थानीयहरु पनि खुसी भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ खिनैटाकी ७२ वर्षिया सुन्दरकली चौधरीलाई अहिले पनि कुवाबाट पानी बोकेको सम्झना ताजै छ । तर कैयौं पुस्ताले समेत पिउने पानीको गर्जो टारेका यी स्रोत पछिल्लो समय संरक्षणविहीन भएको पाउँदा दुःख लागेको बताउँछिन् । निकै दुख, सास्ती गरेर खनेको कुवा वर्षाै सम्म प्रयोग गरेको स्थानीय सुन्दरकली चौधरी, सुरजमणी चौधरी र जिउनाथ चौधरीको भनाई छ ।

पुरातात्तित्वक र ऐतिहासिक महत्वका यी सम्पदाको संरक्षणमा सरकारी क्षेत्रबाट खासै चासो नदेखाउँदा लोप भइरहेका यी यस्ता कुवा, पधेरो, पानी घट्ट, पाटीपौवाको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ । अहिले पनि कुवाकै पानी खानुपर्छ भन्ने चाहि होइन तर पनि भावी पुस्तालाई समेत देखाउन र यसको पहिचान जोगाउन राज्यको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे