दाङमा विद्यालय समायोजन नीति कार्यान्वयनपछि विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै



दाङमा विद्यालय समायोजन नीति कार्यान्वयनपछि विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै

दाङ  २१ कार्तिक । विद्यालयमा समायोजन नीति कार्यान्वयनपछि दाङमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै गएको छ। कमजोर विद्यालयलाई प्रशासन प्रभावकारी रहेको नजिकको विद्यालयमा समायोजन नीति प्रभावकारी बन्दै हाे ।

घोराहीको हरिद्वार प्रावि चौघेरा माविमा समायोजन भएपछि विद्यार्थी सङ्ख्या बढेको छ । कुनै बेला १०/१२ जना विद्यार्थी रहेको विद्यालयमा अहिले तीन सय भन्दा धेरै विद्यार्थी छन् । घोराही उपमहानगरपालिकाले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन लिएको छ ।

हरिद्वार र चौघेराको दूरी झण्डै डेढ किलोमिटर मात्रै छ । विद्यालय गाभ्नेभन्दा पनि नजिकमा राम्रो व्यवस्थापन गरेको विद्यालयले जिम्मा लिँदा प्रभावकारी हुने देखिएको चौघेराका प्रधानाध्यापक श्याम मल्लले बताए ।

घोराही उपमहानगरपालिका–१८ को आधारभूत विद्यालय मसिनामा कुनै बेला २० जना मात्रै विद्यार्थी थिए । तर रझेना माविमा समायोजनपछि ६० जना विद्यार्थी पुगेका रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए ।

घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको छ । अबका दिनमा पनि कमजोर विद्यालयलाई व्यवस्थापन प्रभावकारी रहेको विद्यालयको जिम्मा दिने नीति रहेको घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलले बताए ।

विद्यालय समायोजन गरेर नजिकैको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए ।

साथै शिक्षक, व्यवस्थापन समितिका सदस्यले आफ्ना बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिले पनि शिक्षाको गुणस्तर सुधारमा सहयोग पुगेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे