झिझरी महिला सामुदायिक वन समूह ढकेरीको २६ औँ बार्षिक साधारणसभा सम्पन्न



झिझरी महिला सामुदायिक वन समूह ढकेरीको २६ औँ बार्षिक साधारणसभा सम्पन्न

देउखुरी ७ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका—९, स्थित झिझरी महिला सामुदायिक वन उपभोक्ता समूह ढकेरीको २६ औँ बार्षिक साधारणसभा तथा २१ औँ सार्वजनिक सुनवाई एवम् जनलेखा परिक्षण कार्यक्रम आज सोमबार समूहको कार्यालय परिसर ढकेरीमा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष हिराकुमारी वलीको अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाँके जिल्ला अध्यक्ष सावित्रा पुनको प्रमुख आतिथ्यता तथा सव—डिभिजन वन कार्यालय शमशेरगञ्जका बरिष्ठ वन अधिकृत मनोज लम्सालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वन समूहका उपाध्यक्ष लक्ष्मी देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामुदायिक वन महासंघका बाँके जिल्ला अध्यक्ष सावित्रा पुनले वन संरक्षणमा सबै उपभोक्ताहरु एकदमै जिम्मेवार भएर लाग्न सुझाब दिनुभयो । उहाँले सामुदायिक वन जनताको ठुलो सम्पति भएकोले वन संरक्षण गर्नु हरेक उपभोक्ताको दायित्व भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी सव—डिभिजन वन कार्यालय शमशेरगञ्जका बरिष्ठ वन अधिकृत मनोज लम्सालले कानुन अनुसार सामुदायिक वन समूह सञ्चालन गर्न र वन पैदावार उपभोग गर्न सुझाब दिनुभयो । उहाँले सामुदायिक वनको संरक्षणमा उपभोक्ता र राज्य बीच समन्वय र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । कार्यक्रममा समूहका सचिव सोनिका थारुले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता रोकाय वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा सव—डिभिजन वन कार्यालय शमशेरगञ्जबाट सरुवा भएर जान लाग्नु भएका बरिष्ठ वन अधिकृत शुशिल सुवेदीलाई बिदाई र भरखरै सरुवा भएर आउनु भएका बरिष्ठ वन अधिकृत मनोज लम्साललाई स्वागत समेत गरिएको थियो । उहाँहरु दुबैलाई फूलमाला, खाँदा र टिकाले बिदाई र स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन समूहका सचिव सोनिका थारुले गर्नु भएको थियो ।

वि.सं. २०५५ सालमा स्थापना भएको यस सामुदायिक वन समूहमा अहिले सम्म करिब २ सय ८६ घरधुरी उपभोक्ता रहनु भएको समूहका कोषाध्यक्ष सुनिता रोकाय वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे